निर्वाचन क्षेत्रको संवेदनशीलताका आधारमा सुदृढ सुरक्षा व्यवस्था मिलाउँछौँः गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न विगतको भन्दा सुदृढ सुरक्षा व्यवस्था मिलाइने बताएका छन् ।
बिहीवार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले यस्तो बताएका हुन् ।
निर्वाचन क्षेत्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन वर्गमा विभाजन गरिएको र सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइने उनको भनाइ छ ।
उनले अति संवेदनशील र संवेदनशील क्षेत्रमा पूर्वतयारीसहित विशेष सुरक्षा प्रबन्ध योजना लागु गरिने बताए ।
उनले मुलुकमा राजनीतिक हिंसा र द्वन्द्व न्युनिकरण भई चुनावी वातावरण बन्दै गएको भन्दै तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क हुन आग्रह समेत गरे ।
उनले २३ र २४ भदौमा देश तथा मानवता गम्भीर संकटमा पुगेको स्मरण गराउँदै वर्तमान सरकार देश र नागरिकलाई असुरक्षित हुन नदिने प्रतिवद्धतासहित अघि बढेको बताए ।
प्रधानमन्त्रीले चुनावमा एक थोपा पनि रगत बग्न नदिने प्रतिबद्धता व्यक्त गरिसकेको उल्लेख गर्दै सोही लक्ष्यलाई मूलमन्त्र बनाएर निर्वाचन सम्पन्न गराइने उनको भनाइ छ ।










