बौद्धमा गहना चोर्नेलाई प्रहरीले गोली चलाएर समात्यो

काठमाडौं । काठमाडौँको बौद्धमा भएको करोडको सुन चोरी प्रकरणमा संलग्न अभियुक्तलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । काठमाडौँ महानगरपालिका-६, बौद्ध टुसालस्थित रिन्जी लामाको घरबाट करिब १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरको सुनका गहना चोरी गरी फरार रहेका प्रेम थारुलाई प्रहरीले मुठभेडका क्रममा पक्राउ गरेको हो ।
मंगलबार दिउँसो करिब १२ बजेको समयमा नेपालगञ्ज घर भएका थारु बौद्धस्थित लामाको घरमा प्रवेश गरेका थिए । घरका सदस्यहरू पाँचौँ तला र छतमा घाम तापिरहेको मौका छोपी उनी सरासर चौथो तलामा पुगेर ढोकाको लक खुस्काएर भित्र छिरेका थिए । उनले त्यहाँ रहेको ३० तोला सुन, चाँदीका गहना र बहुमूल्य ‘सि-माला’सहितका सामग्री झोलामा प्याक गरेर फरार भएका थिए ।
दिउँसो करिब २ बजे कोठामा पुग्दा ढोकाको लक फुटेको र बहुमूल्य गहना गायब भएको देखेपछि घरधनीले तत्काल प्रहरीलाई खबर गरेका थिए । घरमा डेरावालहरूको समेत चहलपहल भइरहेको समयमा दिउँसै भएको ठुलो चोरीले सुरक्षा चुनौती थपेको थियो ।
प्रहरीको कारबाही र पक्राउ
चोरीको सूचना पाएलगत्तै जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धको टोलीले अनुसन्धान तीव्र पारेको थियो । अनुसन्धानका क्रममा चोरीमा संलग्न थारुको पहिचान खुलेपछि प्रहरीले उनको खोजी कार्यलाई सघन बनाएको थियो ।
गएराति नागार्जुन नगरपालिकाको महांकाल क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा थारुलाई प्रहरीले फेला पारेको थियो । नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछि प्रहरीले उनीमाथि १ राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं एसपी पवन भट्टराईले जानकारी दिए । प्रहरीको गोली लागेर खुट्टामा चोट लागेका थारुको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
पक्राउ परेका थारु पेशेवर चोर रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । उनीमाथि माघ १७ गते काठमाडौँकै भोटेबहालमा भएको २५ तोला सुन चोरीको घटनामा समेत संलग्न रहेको आशङ्का गरिएको छ । ‘पक्राउ परेका व्यक्ति पेशेवर चोर रहेको देखिन्छ, भोटेबहालको चोरीमा पनि उनको संलग्नताबारे थप अनुसन्धान भइरहेको छ,’ एसपी भट्टराईले भने ।
चोरी भएको २४ घण्टाभित्रै अभियुक्तलाई पक्राउ गर्न सफल भए पनि चोरी भएका सम्पूर्ण सामानको अवस्था र थप गिरोहबारे प्रहरीले अनुसन्धान जारी राखेको छ । दिउँसै मानिसहरूको उपस्थिति भएकै घरबाट करोडौँको धनमाल चोरी हुनुले नागरिकलाई थप सतर्क रहन प्रहरीले आग्रह समेत गरेको छ ।








