प्रेस चौतारी उपत्यका प्रदेश अध्यक्ष पौडेलले दिइन् राजीनामा

काठमाडौं । नेकपा एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपाल, उपत्यका प्रदेश कमिटीकी अध्यक्ष सीता पौडेल (अर्चना)ले आफ्नो पदबाट राजीनामा दिएकी छन् । संगठनभित्रको आन्तरिक कार्यशैली र बढ्दो असमझदारीका कारण उनले शनिबार संगठनका केन्द्रीय अध्यक्षलाई सम्बोधन गर्दै राजीनामा बुझाएकी हुन् ।
प्रेस चौतारीको उपत्यका प्रदेशको दोस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित पौडेलले संगठनभित्र सिर्जना भएको ‘असहज परिस्थिति’ लाई राजीनामाको मुख्य कारण बताएकी छन् । उनले राजीनामा पत्रमा संगठनभित्र केही अप्ठ्यारा परिवेशहरू सिर्जना भएको र ती परिस्थितिका कारण आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्न नसक्दा मनमा खिन्नता बोध भएको उल्लेख गरेकी छन् ।
राजीनामा पत्रमा उनले भनेकी छन्, ‘संगठनभित्रका केही अप्ठ्यारा परिवेश एवं परिस्थितिजन्य विशेष कारणले गर्दा जिम्मेवारी पूरा गर्न नपाउँदा दुःख र खिन्नता अनुभूति गर्दै यो जिम्मेवारीमा रहिरहनु भन्दा काम गर्ने नयाँ पुस्ता र नेतृत्वलाई बाटो प्रशस्त गर्नु सहज ठानेकी छु ।’
प्रेस चौतारीको सक्रिय सदस्य समेत नरहने गरी राजीनामा दिए पनि उनले एमाले पार्टीप्रतिको आफ्नो निष्ठा भने कायमै राखेकी छन् । उनले पार्टीले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न र आगामी निर्वाचनहरूमा पार्टीलाई बहुमतका साथ जिताउन एक जिम्मेवार कार्यकर्ताको रूपमा आफ्नो सक्रियता कायमै रहने स्पष्ट पारेकी छन् ।











