सुशीला कार्कीको राष्ट्रिय सभामा सम्बोधनबारे सांसदहरू: ठोस कुरा आएन

काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले प्रधानमन्त्री सुशीला कार्कीको राष्ट्रिय सभाको सम्बोधनलाई लिएर मिश्रित प्रतिक्रिया दिएका छन् ।
उनीहरूले प्रधानमन्त्रीको सम्बोधनमा कुनै ठोस कुराकानी नआएको बताए । प्रधानमन्त्रीले आफ्नो कार्यकालको सङ्कटपूर्ण अवस्था, निर्वाचन व्यवस्थापनका विषयमा जानकारी गराउनुभएको सांसदहरूको भनाई छ ।
राष्ट्रिय सभाकी सांसद राजेन्द्रलक्ष्मी गैरेले प्रधानमन्त्रीले जेन–जीको दबाबमा परेको र अन्य मन्त्रीहरू पनि त्यसै दबाबमा रहेको उल्लेख गरेको बताइन् ।
उनले भनिन् ‘उहाँले आफू जेनजीको दबाबमा आएको र अरू मन्त्री पनि जेनजीको दबाबमा आएको र अहिले चुनाव लड्न स्वतन्त्र रूपले गएको भन्नुभयो । भ्रष्टाचार नियन्त्रण, निर्वाचनको कुरामा राम्रोसँग कुरा गरेका छौँ भन्नु भयो । नयाँ ठोस कुरा आएन ।’
सांसद विष्णुकुमारी सापकोटाले प्रधानमन्त्रीले सङ्कटकालीन अवस्थामा आएको र आफ्ना पीडाहरू व्यक्त गरेको महसुस भएको बताइन् ।
उनले भनिन् ‘प्रधानमन्त्रीजीले आफू सङ्कटकालीन अवस्थामा आउनु भयो । उहाँले आफ्ना पीडाहरू व्यक्त गरेको जस्तो मैले महसुस गरेँ । उहाँको अब छोटो समय भएकाले उहाँ एउटा निर्वाचन गराउने मन्त्री मण्डल थियो, उहाँ एक प्रकारले सफल हुनुभएको छ ।’
सांसद विष्णुदेवी पुडासैनीले प्रधानमन्त्रीको सम्बोधनले ऊर्जा प्रदान गरेको तर मन्त्रीहरूको बहिर्गमनलाई सहज लिनु गम्भीर भएको बताइन् ।
उनले भनिन् ‘हामीलाई एक किसिमले ऊर्जा नै प्रदान भयो । मन्त्रीहरू जानुभएको कुरालाई सहज रूपमा लिनुभयो । हामीलाई असहज जस्तो लाग्यो । निर्वाचन गराउन आएका मन्त्रीहरू फटाफट जाँदा असर त परेको छ । त्यो खास केही होइन भन्नुभयो ।’
यी प्रतिक्रियाहरूले प्रधानमन्त्रीको छोटो कार्यकाल, निर्वाचन व्यवस्थापन र आन्तरिक दबाबका विषयहरूमा राष्ट्रिय सभा सदस्यहरूको मिश्रित धारणा झल्काउँछ । भेटमा नयाँ ठोस निर्णय वा घोषणा नआए पनि सांसदहरूले प्रधानमन्त्रीको निर्वाचन गराउने प्रयासलाई सकारात्मक रूपमा लिएका देखिन्छ ।








