साँखुमा ‘मिःगा पूजा’सँगै घर फर्किए स्वस्थानीका व्रतालु (तस्बिरहरू)

काठमाडौं । नेपाली हिन्दु धर्मावलम्बीहरूको एक महिना लामो कठोर आध्यात्मिक अनुष्ठान ‘श्री स्वस्थानी व्रत’ माघ शुक्ल पूर्णिमाका दिन विधिवत् रूपमा समापन भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु भएको यो व्रत एक महिनासम्म स्वस्थानी देवीको पूजा आराधना र कथा श्रवण गरी मनाइएको हो ।

स्वस्थानी व्रत समापनको अवसरमा काठमाडौँको ऐतिहासिक साँखुस्थित शालीनदीमा भक्तजनहरूको ठूलो घुइँचो लागेको थियो । विशेष गरी नेवार समुदायमा यो व्रतको समापनलाई ‘मिःगा पूजा’ को रूपमा मनाउने मौलिक परम्परा रहेको छ । शालीनदीमा एक महिनासम्म बसेका व्रतालुहरूले अन्तिम दिन ‘मिःगा पूजा’ गरेपछि मात्र आफ्नो व्रत पूर्ण भएको मान्ने गर्दछन् ।

नेवार समुदायको मौलिक परम्पराअनुसार स्वस्थानी व्रतको अन्तिम दिन गरिने ‘मिःगा पूजा’ विशेष मानिन्छ । यस पूजामा अण्डाको बलि दिने र उक्त अण्डालाई पकाएर प्रसादका रूपमा ग्रहण गर्ने अनुपम चलन छ । स्थानीय संस्कृतिका ज्ञाता जीवन श्रेष्ठका अनुसार, ‘शालीनदीमा व्रत बस्नेहरूका लागि मिःगा पूजा अनिवार्य छ । यो पूजा सम्पन्न भएपछि मात्रै व्रतालुहरू शुद्ध भएर घर फर्कने र व्रतको फल प्राप्त हुने जनविश्वास छ ।’

स्वस्थानी व्रतकथा अनुसार, सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेवलाई पतिका रूपमा प्राप्त गर्न यो कठिन व्रत बसेकी थिइन् । सोही समयदेखि नै मनोकामना पूरा हुने विश्वासका साथ विशेष गरी महिलाहरूले यो व्रत बस्ने गरेका हुन् । एक महिनासम्म चल्ने यो व्रतमा घर-घरमा स्वस्थानीको कथा वाचन गर्ने, मध्याह्नमा स्नान गरी महादेवको पूजा गर्ने र फलाहार मात्र ग्रहण गर्ने गरिन्छ ।

तस्बिरहरू :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 10 =