इरा अफ रप्चर : इतिहासको ब्लाइन्ड स्पटमा विश्व

स्विट्जरल्यान्डको डाभोसमा भर्खरै सम्पन्न वर्ल्ड इकोनोमिक फोरम २०२६ बाट निकाल्न सकिने ‘टेकअवे’ धेरै हुनसक्छन् । तर यस वर्षको डाभोसको ‘सेन्टर स्टेज’ के रह्यो भने, यो ‘ग्लोबल ब्रेनस्टोर्मिङ’ को मञ्चभन्दा फरक एक ‘फोरम अफ एक्सेप्टेन्स’ देखियो । डाभोसमा ग्लोबल लिडरहरूले खुलेर एउटा यथार्थ स्वीकार गरे— दोस्रो विश्वयुद्धपछि निर्माण गरिएको लिबरल वर्ल्ड अर्डर, जसले सन् १९५० को दशकपछि विश्वको राजनीतिक दिशा, इकोनोमिक ट्रेण्ड र सामाजिक संरचनालाई निर्देशित गर्दै आएको थियो, त्यो अब ‘रप्चर’ स्टेजमा प्रवेश गरिसकेको छ । अर्कोतिर डोनाल्ड ट्रम्पले डाभोस २०२६ मा “बोर्ड अफ पिस” भन्ने नयाँ अन्तर्राष्ट्रिय संस्था औपचारिक रूपमा सार्वजनिक गरे । जसको मुख्य उद्देश्य गाजा क्षेत्रमा युद्धविरामलाई स्थायी बनाउने हो । तर यो अब गाजाबाट बाहिर गएर व्यापक भूमिका लिन खोजिरहेको छ ।

डाभोसमा सबैभन्दा बढी चर्चा भने क्यानडाका प्रधानमन्त्री मार्क कार्नीको भयो । उनले ‘रप्चर’ शब्दलाई भू–राजनीतिक बहसको केन्द्रमा ल्याइदिए । कार्नीले यो ‘रप्चर’ बहस वर्ल्ड इकोनोमिक फोरम जस्तो विश्वकै प्रभावशाली मञ्चबाट प्रयोग गरे । यो सँगै उनी डाभोस २०२६ का ‘शो स्टेलर’ बने !

अन्तर्राष्ट्रिय सम्बन्धका विश्लेषकहरूले क्यानडाका प्रधानमन्त्री मार्क कार्नीको डाभोस २०२६ सम्बोधनलाई साधारण कूटनीतिक वक्तव्य मान्न अस्वीकार गरेका छन् । उनीहरूले यो सम्बोधनको ‘फिलोसोफिकल ग्राभिटी’ लाई प्राचीन एथेन्सका राजनेता पेरिकल्सको ‘फ्युनरल ओरेसन’ सँग तुलना गरेका छन् । यसलाई बुझ्न करिब २,५०० वर्ष पछाडिको एथेन्समा फर्कनुपर्छ । पेरिकल्सले युद्धमा वीरगति प्राप्त गरेका सैनिकहरूको सम्मानमा दिएको उक्त प्रवचनले तत्कालीन ग्रीक सभ्यताको चेतनालाई नयाँ शिखरमा पुर्‍याएको थियो । पेरिकल्सको त्यो वाणी एउटा युगको ‘घोषणापत्र’ थियो ।

ठीक त्यही झल्को मार्क कार्नीको डाभोस २०२६ सम्बोधनमा देखियो । उनका अनुसार, विश्व व्यवस्था अहिले इतिहासको एउटा ‘रप्चर’ मा छ— जहाँ पुरानो विश्वव्यवस्थाको संरचना ढलिसकेको छ र नयाँ शक्ति सन्तुलन कस्तो हुनेमा अझ स्पष्ट छैन ।

मार्क कार्नीको दृष्टिमा, अहिलेको विश्व–व्यवस्था साधारण ट्रान्जिसन अर्थात् संक्रमणको चरणमा छैन । सामान्यतया कूटनीति र शैक्षिक बहसमा ‘संक्रमण’ भन्ने शब्द प्रयोग गर्दा शक्ति सन्तुलन बिस्तारै सर्ने, पुराना संरचनामा केही सुधार हुने र अन्तिममा स्थिरता फर्किने अपेक्षा गरिन्छ । यस्तो भाषाले विश्वलाई फरक दिशानिर्देश गर्छ— मानौँ अहिले देखिएको अस्थिरता अस्थायी हो र विद्यमान व्यवस्था अझै लामो समय जानेछ । तर कार्नीले डाभोसमा यो सोचलाई सबैभन्दा ठूलो भ्रम भनिदिए । डाभोस २०२६ मा उनले प्रयोग गरेको ‘रप्चर’ शब्द यही कारण चर्चामा रह्यो । ‘रप्चर’ भन्नाले क्रमिक सुधार, संस्थागत मर्मत र व्यवस्थागत निरन्तरताको समय समाप्त भइसकेको संकेत हो । अब पुरानो विश्व–व्यवस्थालाई थोरै सुधार गरेर बचाउन सकिने अवस्था छैन ।

हुन पनि, अहिले दोस्रो विश्वयुद्धपछि निर्माण गरिएका संयुक्त राष्ट्र संघ, ब्रेटन वुड्स प्रणालीका फाइनान्सियल इन्स्टिट्युसनहरू र लिबरल विश्वव्यवस्थाका संयन्त्रहरू आज प्रायः ‘भेन्टिलेटर’ मा छन् । यी संस्थाहरू दोस्रो विश्वयुद्धपछिको युनिपोलर युगमा सशक्त थिए । तर आजको मल्टिपोलर युगमा, विश्व अब एक शक्तिको केन्द्रबाट मात्र निर्देशित छैन; शक्ति अब विभिन्न क्षेत्रीय ब्लकहरू, उदीयमान अर्थतन्त्रहरू र नन स्टेट एक्टर्समा छरिएको छ । हो यही रियालिटीलाई बुझाउँदै, मार्क कार्नीले दशकौँदेखि विश्व राजनीति र अर्थतन्त्रलाई डोहोर्‍याउँदै आएको ‘अमेरिकन हेजोमेनी’ मा आधारित विश्वव्यवस्थालाई ‘फिक्सन’ भनिदिए । डाभोस २०२६ को त्यो हलमा कार्नीले सबैभन्दा कठोर सत्यलाई एउटै वाक्यमा समेटे: “यदि तपाईं टेबलमा हुनुहुन्न भने, सम्झनुहोस्— तपाईं मेनुमा हुनुहुन्छ ।”

उनका अनुसार, सन् १९४५ पछि निर्मित संस्थाहरूको संरचना यति फ्रजाइल भइसक्यो कि यसलाई रिभाइभ गर्ने प्रयास गर्नु ‘नोस्टाल्जिया’ मात्र हो । पुराना नियम, सन्धि र मान्यताहरू अब इतिहासका संग्रहालयमा सजाउन लायक मात्र छन्; ती वर्तमानको भू-राजनीतिक राप र ताप थेग्न पूर्णतः असमर्थ छन् । अब एक्ला-एक्लै हिँड्ने राष्ट्रहरू ठूला शक्तिहरूको ‘मेनु’ मा परिकार बन्नेछन् । मध्यम र साना शक्तिहरूले आफ्नो सान्दर्भिकता प्रमाणित गर्न ढिला भइसकेको छ । यदि निर्णय प्रक्रियाको ‘टेबल’ मा आफ्नो ठाउँ सुरक्षित गर्न सकिएन भने, ती राष्ट्रहरूको भाग्य अरू कसैको भान्सामा तय हुनेछ । यो यथार्थ डाभोसमा न्याभिगेट गरिएको यथार्थ बन्यो । वास्तवमा अहिलेको वर्ल्ड अर्डर यही एउटा गम्भीर ‘ब्लाइन्ड स्पट’ मा प्रवेश गरिसकेको छ, जहाँ विगत आठ दशकदेखि विश्वलाई डोहोर्‍याइरहेको ‘प्याक्स अमेरिकाना’ को युग औपचारिक रूपमा समाप्त हुँदैछ । तर नयाँ विश्व-व्यवस्थाको स्वरूप कस्तो हुनेमा अन्योल अझै बाँकी छ ।

‘प्याक्स अमेरिकाना’ को युग भनेको के त ? यसलाई बुझौँ, ‘प्याक्स’ एउटा ल्याटिन शब्द हो, जसको अर्थ ‘शान्ति’ हुन्छ । तर भू–राजनीति र इतिहासमा यो शब्द शान्तिमा मात्र सीमित छैन । प्याक्सले यस्तो बलको आधारमा कायम गरिएको शान्तिलाई बुझाउँछ, जहाँ एउटा शक्तिशाली राष्ट्र वा प्रणालीले आफ्नो नियम र सैन्य क्षमताको आधारमा विश्वभर स्थिरता कायम गर्छ । हामीले ‘प्याक्स रोमाना’ को युग सुनेका छौँ, जहाँ रोमको शक्ति ढुङ्गाका सडक, मजबुत सैन्य सङ्गठनजस्ता भौतिक उपस्थितिमा निहित थियो । त्यसपछि औद्योगिक क्रान्तिले शक्तिको परिभाषा बदलिदियो र ‘प्याक्स ब्रिटानिका’ को उदय भयो । प्याक्स ब्रिटानिकामा शक्ति स्टिम इन्जिन र विश्वका जल मार्गहरूमाथि बेलायतको एकाधिकारमा सर्‍यो । बीसौँ शताब्दीको मध्यतिर विश्वले ‘प्याक्स अमेरिकाना’ को अनुभव गर्‍यो, जसको आउटलाइन पेट्रोल-डलर र ‘आणविक सन्तुलन’ थियो । यद्यपि, ‘प्याक्स अमेरिकाना’ को अन्त्यको बहस बौद्धिक वृत्तमा लामो समयदेखि जारी भए तापनि यसको औपचारिक अन्त्येष्टि भने अमेरिकी राजनीतिले नै गर्‍यो । विशेष गरी ट्रम्प २.० को ह्वाइट हाउस पुनरागमनसँगै अमेरिकी सरकारले नै प्याक्स अमेरिकानाको पुरानो आउटलाइनलाई औपचारिक रूपमा त्यागिदिएको छ ।

डोनाल्ड ट्रम्पले डाभोस २०२६ मा “बोर्ड अफ पिस” को प्रस्ताव गरे । विश्वले ‘प्याक्स सिलिका’ देख्यो । सन् २०२५ डिसेम्बरमा अमेरिकी विदेश विभागको नेतृत्वमा अघि बढाइएको प्याक्स सिलिका विगतका कुनै पनि भू-राजनीतिक मोडभन्दा पूर्णतः भिन्न छ । यसलाई २१औँ शताब्दीको नयाँ ‘कोल्ड वार’ भन्दा ‘कोड वार’ भन्न थालिएको छ । मार्क कार्नीले डाभोसमा संकेत गरेको त्यो ‘राप्चर’ (पुरानो व्यवस्थाको अन्त्य) र ट्रम्पको ‘बोर्ड अफ पिस’ ले विश्व अब पहिलेको जस्तो रहने छैन भन्ने प्रमाण पेश गरेको छ । ‘प्याक्स अमेरिकाना’ को उदारवादी युगको औपचारिक अन्त्येष्टि भइसकेको छ । यही परिवर्तित यथार्थसँगै ‘प्याक्स सिलिका’ को युग औपचारिक रूपमा सुरु भएको छ ।

‘प्याक्स सिलिका’ मा भनिएको ‘सिलिका’ अर्थात् सिलिकन डाइअक्साइड हो, जुन सेमीकन्डक्टर उद्योगको आधारभूत कच्चा पदार्थ हो । यो पदार्थलाई आणविक र उप–आणविक तहसम्म प्रशोधन गरेर सेमीकन्डक्टर चिप्स तयार गरिन्छ । ऐतिहासिक रूपमा शक्ति सन्तुलन भूमि, सीमा, प्राकृतिक स्रोत वा सैन्य क्षमतामा आधारित हुन्थ्यो । तर अब यो केन्द्र सरेर सेमीकन्डक्टर चिप्स, एआई एल्गोरिदम र डिजिटल इकोसिस्टममा केन्द्रित हुँदैछ ।

ओपेनियन मेकरहरू भन्छन्, अबको विश्व व्यवस्थामा ‘न्युट्रालिटी’ भन्ने कुरा बिस्तारै हराउँदै जानेछ । आगामी युगमा कुनै पनि देश, संस्था वा समाज पूर्ण रूपमा तटस्थ बसेर अघि बढ्न सक्ने अवस्था रहने छैन । अब हरेक राष्ट्र— या त सिलिकन–आधारित टेक्नोलोजीको निर्माता बन्नुपर्छ, जसले नियम बनाउँछ, प्रणाली डिजाइन गर्छ र प्रविधिको दिशा निर्धारण गर्छ; या त उसले अरू देशले बनाएको प्रविधि प्रयोग गर्ने ‘कन्ज्युमर’ बन्नुपर्छ, जसको जीवनशैली, अर्थतन्त्र र सुरक्षा अरूको कोड र चिप्सद्वारा सञ्चालन हुन्छ ।

यी चिप्स आजको आधुनिक संसारका लगभग सबै प्रविधिको लागि आवश्यक छ । तपाईं हामीले प्रयोग गर्ने एउटा स्मार्टफोनदेखि कम्प्युटर, स्मार्ट टिभी, कार, जहाज, विमान, मिसाइल प्रणाली, अस्पतालका लाइफ लाइन मेसिन, बैंकिङ र वित्तीय प्रणाली, इन्टरनेट, सामाजिक सञ्जाल— सबैको काम यही साना तर शक्तिशाली सिलिकन चिप्समा निर्भर छ ।

सजिलो भाषामा भन्नुपर्दा, यी चिप्स बिना आधुनिक जीवनको चलन–चल्ती र कार्यसम्पादन लगभग असम्भव छ ।

यो सेमीकन्डक्टर उद्योगको विकासको साइज यति ठूलो छ कि यसले विश्वका कतिपय परम्परागत उद्योगहरूलाई छायामा पारिदिएको छ । सन् २०२४ सम्म आइपुग्दा यो उद्योगको बजार आकार ६०० बिलियन डलरभन्दा बढी भइसकेको थियो, र विभिन्न अनुसन्धानहरूले सन् २०३० सम्ममा यो १ ट्रिलियन डलर नाघ्ने प्रक्षेपण गरेका छन् । यही पृष्ठभूमिमा ‘प्याक्स सिलिका’ को अवधारणा जन्मिएको हो । ‘प्याक्स सिलिका’ युगले मात्र ती राष्ट्रहरूलाई चिन्छ, जसले आफ्नो राष्ट्रिय क्षमतालाई ‘डिजिटल इन्टेलिजेन्स’ सँग जोड्न सक्छन् । डिजिटल इन्टेलिजेन्स भनेको चाहिँ एउटा यस्तो प्रणाली हो, जसमा डाटा अनालाइसिस, साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ र मेसिन लर्निङको इकोसिस्टम समेटिन्छ ।

मार्क कार्नीले डाभोस २०२६ मा प्रयोग गरेको ‘रप्चर’ को न्यारेटिभ, डोनाल्ड ट्रम्पद्वारा घोषित ‘बोर्ड अफ पिस’ र प्रविधिको नयाँ साम्राज्य ‘प्याक्स सिलिका’ को उपस्थितिले पुरानो लिबरल विश्वव्यवस्थाको संरचना ढलिसकेको संकेत गर्छ । यी सबै घटनाहरूले बहु–क्षेत्रीय शक्ति सन्तुलनमा गहिरो प्रभाव पार्दैछन् । नेपालको ‘परराष्ट्र मामिला करिडोर’ मा यो परिवर्तित यथार्थलाई गम्भीरतापूर्वक बुझ्नुपर्छ । जेन जी आन्दोलन पछाडिको नेपालले आफ्नै परराष्ट्र नीति र कूटनीतिक संरचनामा सक्रिय रूपमा डिजिटल सुरक्षा, डेटा साझेदारी, सेमीकन्डक्टर आपूर्ति र बहुपक्षीय संवादलाई समावेश गर्नुपर्नेछ । नेपालले यो रणनीतिक बहसमा आफूलाई ‘प्रो-एक्टिभ’ रूपमा उभ्याउनै पर्छ । इतिहासको यो मोडमा कि त हामी नियम बनाउने टेबलको एउटा कुनामा संवादका लागि उपस्थित हुनेछौँ, अन्यथा यो नयाँ साम्राज्यको ‘मेनु’ मा एउटा सानो परिकार बनेर हराउनेछौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =