मूलपानीबाट नियन्त्रण गरेको लुटपाट गिरोहलाई प्रहरीले गर्यो सार्वजनिक (तस्बिरहरू)

काठमाडौं । प्रहरीले काठमाडौँमा रातीको समयमा लुटपाट र आतङ्क मच्चाउने १० जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । प्रहरीले बुधवारदेखि सर्च अपरेसन चलाएर उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले जानकारी दिए ।

उनीहरूले जेन–जी आन्दोलनपछि राति १२ बजेपछि बिहान ४ बजेसम्मको समयमा हिँड्ने व्यक्तिहरूलाई लक्षित गरेर लुटपाट गर्ने गरेको थापाले बताए । लुटपाट गर्ने गिरोहको नाइके विनय तामाङ रहेको उनले जानकारी दिए । उनकाअनुसार तामाङ जेन–जी आन्दोलन अगाडी पनि बुढानीलकण्ठ क्षेत्रमा चोरी गरेको आरोपमा पक्राउ परी महाराजगञ्ज प्रहरीको हिरासतमा थिए । भदौ २४ मा उनी हिरासतबाट भागेका थिए ।

हिरासतबाट भागेपछि समूह बनाएर विभिन्न ठाउँमा लुटपाट गर्ने गिरोह गठन गरेर सक्रिय भएको उनले बताए । बुधवार साँझदेखि बिहीबार बिहानसम्म सञ्चालन गरेको सर्च अपरेसनमार्फत उनीहरूलाई पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडी बढाएको उनले जानकारी दिए ।

पक्राउको क्रममा दोहोरो झडप हुँदा प्रहरी र विनय तामाङ घाइते भएका छन् । हालसम्म उक्त गिरोहले स्वयम्भूमा ७ वटा, महाराजगञ्ज तथा बुढानीलकण्ठ क्षेत्र, बौद्ध क्षेत्र र गौशाला क्षेत्रमा ३-३ वटा र ठिमीको क्षेत्रमा १३ वटा लुटपाट गरेको अनुसन्धानबाट खुलेको उनले जानकारी दिए । उनीहरू विरुद्ध हालसम्म २७ वटा जाहेरी आएका छन् । पक्राउ पर्नेहरूमा विनयसँगै आयन माझी, मनिस रसाइली, सविन माझी, पेमा तामाङ, सलोन तामाङ, राजीव भण्डारी, विशाल तामाङ, विदुर विश्वकर्मा, फुर्वा तामाङ रहेका छन् । उनीहरूसँगबाट प्रहरीले ३ वटा मोटर साइकल, एउटा ट्याक्सी तथा सुनका गरगहना तथा नगद रुपैयाँ बरामद गरेको छ ।

उनी भन्छन्, ‘पछिल्लो ३ महिनाको समयमा प्रहरीलाई चुनौतीको रूपमा एउटा घटना आएको थियो । विशेषतः रातिको समयमा मोटरसाईलमा आएर लुटपाट गर्ने घटना बढिरहेको थियो । यसलाई हामीले अत्यन्त संवेदनशील भएर यो समूहमाथि हामीले निगरानी, प्रहरी परिचालन गरेका थियौँ । रातीको समयमा दुई वटा मोटर साइकलमा आएर प्रत्येक मोटर साइकलमा ३-३ जना बसेर राती १२ बजेपछि बिहान ४ बजेसम्म जो मानिस सडकमा आउनुहुन्छ, उनीहरूलाई लुटपाट गर्ने उद्देश्यले संगठित गिरोह सक्रिय भएको अवस्था थियो । त्यो गिरोहलाई हिजो साँझ ६ बजेदेखी नै हामीले अपरेसन चलाएर आज बिहान करिब ३ बजे यो अपरेसन टुंग्यिएको छ । यो क्रममा हामीले यो कार्यमा संलग्न रहेका १० जनालाई नियन्त्रणमा लिएका छौँ । नियन्त्रणमा लिने क्रममा प्रहरीसँग झडप हुने क्रममा एक जना प्रहरीको गोली लागेर घाइते अवस्थामा रहेका छन् । उनी उपचारको क्रममा अस्पतालमा छन् । यो समूह जेन–जी आन्दोलन पछि संगठित भएको देखिन्छ । यो समूह दिनभरि ट्याक्सी चलाउने, ट्याक्सी पनि हामीले नियन्त्रणमा लिएका छौँ । अन्य सवारी साधन चलाउने र रातीको समयमा ९ बजेतिर जम्मा हुने र खाना खाएर रातको १२ बजेपछि बिहान ४ बजेसम्म मोटर साइकलमा बसेर लुटपाट गर्ने र लुटपाट गरेपछि फेरि सबै जम्मा भएर ट्याक्सी वा प्राइभेट कारमा गएर लुटेराहरू बस्ने गरेको देखिन्छ । मोटरसाईलमा प्रहरीले चेकिङ गर्न थालेपछि उनीहरू प्रहरीलाई पनि चक्मा दिनेगरि अन्य सवारीसाधनमा चढेर भाग्ने ट्रेड यो समूहको देखिन्छ । यो समूहको टिम लिडरको विनय तामाङ रहेका छन् । निजले विगतमा पनि विभिन्न किसिमको चोरी डाका गरेको देखिन्छ । उनले नै अन्य १० जनलाइ परिचालन गरेको देखिन्छ । विनय तामाङ गत भदौ २४ गते भन्दा अगाडी बुढानीलकण्ठ क्षेत्रमा चोरी डाका मुद्दामा प्रहरी नियन्त्रणमा रही महाराजगञ्ज हिरासतमा रहेका थिए । भदौ २४ गते उनी हिरासतबाट फरार भएका थिए । सोही पश्चात् उनले यो समूह गठन गरेर विभिन्न ठाउँमा लुटपाट गरेको देखिन्छ । अहिलेसम्म स्वयम्भूमा ७ वटा, महाराजगञ्ज र बुढानीलकण्ठ क्षेत्रमा ३ वटा, बौद्ध क्षेत्रमा ३ वटा, गौशाला क्षेत्रमा ३ वटा र ठिमीको क्षेत्रमा १३ वटा घटनाहरूमा उनीहरूको संलग्नता रहेको देखिन्छ । अहिलेसम्म २७ वटा जाहेरी आएका छन् ।’

प्रहरीकारअनुसार पक्राउ परेका सबै जना विगतमा पनि चोरी र डाका मुद्दामा पक्राउ परेका व्यक्तिहरू रहेका छन् । महिलाहरूको कानको गहना लुस्ने र एकान्तमा मानिसहरूलाई लुटेर उनीहरू मोटरसाइकलमा भाग्ने गरेका थिए । लुटपाटमा संलग्नहरू काभ्रे, रामेछाप र सिन्धुली क्षेत्रका रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =