उपमुख्यमन्त्री अजित पवार सवार विमान चिप्लियो, अवस्था चिन्ताजनक

काठमाडौं । भारतको महाराष्ट्रस्थित बारामतीमा बुधबार बिहान एक निजी चार्टर्ड विमान दुर्घटनामा परेको छ । उक्त विमानमा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार थिए ।बारामती विमानस्थलमा अवतरणको अन्तिम तयारीमा रहेको विमान रनवेबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको प्रारम्भिक खबर प्राप्त भएको छ ।
जिल्ला परिषद् निर्वाचनको सिलसिलामा आयोजना गरिएको एक विशेष कार्यक्रममा सहभागी हुन उपमुख्यमन्त्री पवार बारामती जाँदै थिए । विमानस्थलमा अवतरण गर्ने क्रममा विमान अनियन्त्रित भई रनवेबाट बाहिर जोतिन पुगेको बताइएको छ । दुर्घटना लगत्तै विमानमा आगलागी भएको थियो । घटनास्थलबाट प्राप्त तस्बिर र भिडियो फुटेजहरूमा विमानका जलेका टुक्राहरू यत्रतत्र छरिएको र बाक्लो धुवाँको मुस्लो आकाशमा उडिरहेको भयावह दृश्य देखिन्छ ।
दुर्घटनामा परी उपमुख्यमन्त्री पवार गम्भीर घाइते भएका छन् । उनीसँगै विमानमा रहेका निजी सहायक, सुरक्षाकर्मी तथा चालक दलका सदस्यहरू पनि घाइते भएको जनाइएको छ । घटना लगत्तै ठूलो संख्यामा स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरू घटनास्थलमा पुगेका थिए । अहिले स्थानीय प्रशासनले एम्बुलेन्स, दमकल र विशेष मेडिकल टोली परिचालन गरी युद्धस्तरमा उद्धार कार्य जारी राखेको छ । घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पतालतर्फ लगिएको छ ।
यो दुर्घटना प्राविधिक गडबडीका कारण भयो वा ‘क्र्यास ल्यान्डिङ’ को प्रयास थियो भन्नेबारे स्पष्ट हुन सकेको छैन । यद्यपि, विमान अवतरणको प्रयासकै क्रममा दुर्घटना भएको पुष्टि भएको छ । घटनाको विस्तृत विवरण र घाइतेहरूको पछिल्लो अवस्थाबारे थप जानकारी आउन बाँकी छ ।








