भारी हिमपातले मध्यपहाडी लोकमार्ग ठप्प

रुकुमपूर्व । शुक्रबारदेखि परेको अविरल हिमपातका कारण रुकुमपूर्व भएर जाने मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । लोकमार्गको लुकुम-पातिहाल्ना खण्डमा बाक्लो हिउँ जमेपछि यातायातका साधनहरू सञ्चालन हुन नसक्दा जनजीवन कष्टकर बनेको छ ।
सडक अवरुद्ध भएपछि विशेष गरी संघीय राजधानी काठमाडौंबाट रुकुमपूर्व र रुकुमपश्चिमका लागि छुटेका लामो दूरीका बसहरू बीच बाटोमै रोकिएका छन् । चिसो र हिमपातका बीच सवारी साधनहरू अलपत्र परेपछि बालबालिका, वृद्धवृद्धा र बिरामी यात्रुहरू बढी मर्कामा परेका छन् । गन्तव्यमा पुग्न लागेका दर्जनौं यात्रुहरू हिउँमा फसेपछि उनीहरूको खानपान र बासको समस्या उत्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक (डीएसपी) उमा शंकरप्रसाद यादवका अनुसार, सडकमा गाडीहरू फसेको जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । ‘इलाका प्रहरी कार्यालय काक्रीबाट प्रहरी निरीक्षक हिमराज विकको कमाण्डमा उद्धार टोली घटनास्थल पुगिसकेको छ,’ डीएसपी यादवले भने, ‘तर निरन्तरको हिमपात र प्रतिकूल मौसमका कारण हिउँ पन्छाउने कार्यमा निकै चुनौती थपिएको छ ।’
अवरुद्ध सडक खुलाउन र यात्रुलाई सुरक्षित स्थानमा पुर्याउन स्थानीय प्रशासनले तदारुकता देखाएको छ । प्रमुख जिल्ला अधिकारी सीता परियारले सडक सुचारु गर्न भूमे गाउँपालिकासँगको समन्वयमा जेसेबी र स्काभेटर परिचालन गरिएको जानकारी दिइन् । उनले भनिन्, ‘हाम्रो प्राथमिकता यात्रुको सुरक्षित उद्धार र सडक खुलाउनु हो । हिउँ निरन्तर परिरहेकाले केही समय लाग्न सक्छ, तर हामी सबै संयन्त्र परिचालन गरेर लागिपरेका छौं ।’








