नेपाली राजनीतिमा ‘बालेन मेनिया’

सन् १९६० को दशक, इङ्गल्यान्डको लिभरपुल सहरबाट चार युवा-जोन लेनन, पल म्याककार्टनी, जर्ज ह्यारिसन र रिङ्गो स्टार-एकसाथ उभिए र ‘द बिटल्स’ बनाए । सन् १९६२ मा सार्वजनिक भएको ‘लभ मी डु’ गीतसँगै बिटल्सको युफोरिया सुरु भयो । केही वर्षमै उनीहरूले संसारभरका युवाहरूको सोच र भावनालाई झकझक्याइदिए । बिटल्सले विश्वलाई एउटा नयाँ सङ्गीत समूह त दियो नै, सँगसँगै एउटा विशाल सामाजिक लहर पनि जन्माइदियो, जसलाई संसारले ‘बिटलमेनिया’ को नामले बुझ्न थाले ।

आजको जेन जी जस्तो, १९६० को दशकमा बिटल्स वरिपरि ‘बेबी बुमर’ पुस्ता थियो । त्यतिखेर ‘बिटलमेनिया’ युवाहरूको स्वतन्त्रताको चाहना र पुरानो व्यवस्थाप्रतिको अस्वीकार थियो । बिटल्सको कन्सर्टमा युवाहरू कराउँथे, रुन्थे र बेहोस हुन्थे । त्यो समयसम्म कुनै कलाकारले यस्तो प्रभाव जमाएको थिएन । बिटल्सका गीतहरूले प्रेमका कुरा मात्र गरेनन्; समाज, युद्ध, शान्ति र मानवीय स्वतन्त्रताका प्रश्न उठाए । विशेषतः जोन लेननको दार्शनिक चेतनाले युद्ध, हिंसा र पाखण्डविरुद्ध जुन प्रकारको ‘काउन्टर-कल्चर’ निर्माण गर्‍यो, त्यसले युवाहरूलाई सत्ता र संस्थागत नियन्त्रणमाथि प्रश्न गर्ने साहस र बौद्धिक आधार प्रदान गर्‍यो ।

एमटिभी कल्चरको उदयभन्दा थोरै अघि नै बिटल्सले सङ्गीतको इतिहासमा ‘सेलिब्रेटी’ र ‘आइकन’ बीचको सीमारेखा मेटाइदिएका थिए । उनीहरू कलाकार मात्र रहेनन्, उनीहरू एउटा ‘सेकुलर गड’ का रूपमा पुजिन थाले । आजको आधुनिक ‘फ्यानडम’ संस्कृति, जहाँ अनुयायीहरू आफ्नो आदर्शका लागि जुनसुकै हदसम्म जान तयार हुन्छन्, त्यसको वास्तविक जग त्यही ‘बिटलमेनिया’ नै थियो ।

सन् १९६० को दशकमा बेलायतबाट सुरु भएको ‘बिटलमेनिया’ ले जसरी विश्वका युवाहरूको सोच र सामाजिक संरचनालाई झकझक्याएको थियो, आज नेपाली राजनीतिको रङ्गमञ्चमा ठ्याक्कै त्यस्तै एउटा सामाजिक-राजनीतिक लहर देखापरेको छ- ‘बालेन मेनिया’ । काठमाडौँको सुविधायुक्त मेयर पद र मर्यादाक्रमको ‘कम्फर्ट जोन’ त्यागेर नेकपा एमालेको गढ मानिने झापा-५ को मैदान रोज्नु बालेन शाहको केवल चुनावी निर्णय मात्र होइन, यो त परम्परागत राजनीतिको ‘ग्रामर’ बदल्ने एउटा साहसिक ‘सर्जिकल स्ट्राइक’ हो ।

आज नेपालको राजनीतिक ल्यान्डस्केपमा ठ्याक्कै त्यस्तै एक ‘सोसियो-पोलिटिकल फेनोमेनन’ देखापरेको छ, जसलाई धेरैले नेपाली भर्सनको ‘बालेन मेनिया’ भनेर व्याख्या गरिरहेका छन् । नेपाली समाजले पहिले पनि लोकप्रिय नेता देखिसकेको छ, तर देशभर एउटै व्यक्तिले राजनीतिक विमर्शको भाषा, विचार र प्राथमिकता नै बदल्ने अवस्था भने पहिलोपटक देख्दैछ । र, काठमाडौँका पूर्व मेयर बालेन शाह अहिले नेपाली राजनीतिका त्यही ‘सेन्टर स्टेज’ मा छन् ।

नेपाली राजनीतिको परम्परागत ग्रामर र ‘पावर डायनामिक्स’ बुझ्नेहरूका लागि काठमाडौँको ‘मेयर’ छोडेर झापा-५ को मैदान रोज्ने बालेन शाहको निर्णय पहिलो दृष्टिमा ‘इन्टेलेक्चुअल सुसाइड’ जस्तो देखिन सक्छ । केही विश्लेषकहरू यसलाई पपुलिस्टिक लहर मान्छन्, जहाँ सामाजिक सञ्जालको शक्ति र मिडियाको प्रभावले लोकप्रियता सिर्जना गरेको बुझाइ छ ।

तर, यसलाई सूक्ष्म ढङ्गले डिकोड गर्ने हो भने यो परम्परागत राजनीतिमाथि गरिएको एउटा ‘सर्जिकल स्ट्राइक’ जस्तो देखिन्छ । स्वयं केपी शर्मा ओलीले बालेनको झापा-५ मा देखिएको सक्रियतालाई रवि लामिछानेको ‘उक्साहट’ भनेर व्याख्या गर्नु आफैँमा एउटा राजनीतिक स्वीकारोक्ति हो । यसको अर्थ के हो भने-नेकपा एमालेजस्तो दशकौँदेखि सत्ता, सङ्गठन र न्यारेटिभमा जरा गाडेर बसेको पार्टी बालेनको उपस्थितिलाई सामान्य घटना ठानिरहेको छैन । बरु, एमालेले यसलाई आफ्नो सुरक्षित किल्लामाथि परेको अप्रत्याशित आक्रमणका रूपमा बुझेको छ । परम्परागत राजनीतिक शक्तिहरू प्रायः ‘उपेक्षा’ को रणनीति अपनाउँछन्, तर जब यी पार्टीहरू सार्वजनिक रूपमा प्रतिक्रिया दिन बाध्य हुन्छन्, त्यो नै असहजता र भयको प्रमाण हो । स्वयं केपी शर्मा ओलीले बालेनको झापा-५ को उपस्थितिलाई रवि लामिछानेको ‘उक्साहट’ भनी टिप्पणी गर्नुले त्यही पुष्टि गर्छ ।

बालेनको ‘झापा-५’ चयन आफैँमा ‘मेटाफोरिक’ मात्र होइन, संरचनागत रूपमा पनि अत्यन्तै अर्थपूर्ण छ । यो क्षेत्र लामो समयदेखि नेकपा एमालेको ‘कोर फोर्ट्रेस’ हो, जहाँ सङ्गठन, कम्युनिष्ट इतिहास र ओलीको पहिचान एक-अर्कामा गाँसिएका छन् । यस्तो ठाउँमा गएर उम्मेदवारी दिनु राजनीतिक मनोविज्ञानलाई चुनौती दिनु हो । यही कारणले गर्दा यो कदम बालेनको ‘कोर टिम’ ले गरेको एउटा अत्यन्तै हाइ-रिस्क तर हाइ-इम्प्याक्ट मुभ देखिन्छ । यदि बालेन शाह, धेरैले ‘पोलिटिकल डेथ ट्र्याप’ ठानेको यो झापा-५ को निर्वाचनमा सफल भए भने, त्यो नेपाली इतिहासको एउटा निर्णायक ‘प्याराडाइम सिफ्ट’ मात्र हुने छैन, बरु यसले दक्षिण एसियाकै राजनीतिमा एउटा नयाँ मानक स्थापित गर्नेछ । यस कदममार्फत बालेनले एउटा राजनीतिक ‘न्यु अर्डर’ स्थापना गरिदिएका छन् ।

राष्ट्रको मर्यादाक्रममा दशौँ स्थानको सुविधायुक्त ‘कम्फर्ट जोन’ त्यागेर बालेन शाहले झापा-५ रोज्नु एउटा ‘स्ट्राटेजिक डिपार्चर’ हो । यो कदमको गहिराइ बुझ्न भदौ २३/२४ को ‘जेनजी’ विद्रोह र त्यसपछिको ‘भ्याकुम’ लाई विश्लेषण गर्नु अनिवार्य हुन्छ । जेन-जी विद्रोहबाट जन्मिएको प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको सरकारसँग एउटा ऐतिहासिक अवसर थियो-राज्यलाई नैतिक रूपमा पुनःस्थापित गर्ने अवसर । जब राष्ट्रले न्यायको विश्वसनीय ‘इकोसिस्टम’ निर्माण गर्न असफल हुन्छ, तब राजनीतिमा ‘हिस्टोरिकल इम्परेटिभ’ को उदय हुन्छ । बालेन शाहको टिमले यही सूक्ष्म तर निर्णायक बिन्दु बुझिसकेका थिए-काठमाडौँको ‘सेफ जोन’ भित्र बसेर एउटा सुविधायुक्त मेयरको भूमिकामा खुम्चिनु अब बालेनको लागि विकल्प होइन । त्यसकारण स्थापित शक्तिको ‘इपिसेन्टर’ मानिने केपी शर्मा ओलीको राजनीतिक उपस्थितिलाई उनकै गढमा चुनौती दिनु बालेनका लागि एउटा ‘मेटा-पोलिटिकल’ दायित्व बनिदियो । यो कदमले झापा-५ लाई अब एउटा निर्वाचन क्षेत्रमा मात्र सीमित राखेको छैन, बरु यसलाई ‘भोट फर चेन्ज’ शक्तिहरूको एउटा ‘कलेक्टिभ डिफेन्स’ को मैदान बनाएको छ र निर्वाचनमा बालेन ‘जेनजी’ आन्दोलनको एउटा ‘मेटाफोरिकल सिम्बोल’ बनेका छन् ।

जब स्थापित शक्तिहरू उपेक्षाको रणनीति छोडेर सार्वजनिक रूपमा प्रतिक्रिया दिन बाध्य हुन्छन्, तब बुझ्नुपर्छ- राजनीतिको भुइँतहमा ठुलै परकम्प गइरहेको छ । केपी शर्मा ओलीको राजनीतिक किल्ला झापा-५ मा बालेन शाहको उम्मेदवारीले एमाले जस्तो सङ्गठित शक्तिलाई समेत रक्षात्मक बनाएको छ । जनकपुरको मैथिली सम्बोधनदेखि झापाको चुनावी मैदानसम्म बालेनले निर्माण गरेको यो ‘लिडरसिप अप्टिक्स’ ले नेपाली राजनीतिमा नयाँ ‘न्यु अर्डर’ को सङ्केत त गरेको छ नै, साथै लोकप्रियताको ‘सफ्ट पावर’ लाई संस्थागत विरासतमा बदल्ने अग्निपरीक्षाको ढोका पनि खोलेको छ ।

बुबा बितेको एक महिना पनि नपुग्दै बालेन शाहले काठमाडौँको मेयर पदबाट राजीनामा दिनु, त्यसपछि जनकपुर पुगेर राष्ट्रिय एकताको सन्देशसहित सम्बोधन गर्नु, र अन्ततः झापा-५ बाट उम्मेदवारी घोषणा गर्नु-यी घटनाहरूलाई अलग-अलग हेर्नु बालेन शाहको ‘लिडरसिप अप्टिक्स’ लाई नबुझ्नु हो । यी त बालेन टिमको एउटा वृहत् रणनीतिका पाटा हुन्, जसले उनलाई काठमाडौँको पूर्व मेयरको अवतारबाट निकालेर एउटा ‘ट्रान्स-जिओग्राफिकल लिडर’ का रूपमा स्थापित गरिदिएको छ ।

जनकपुरको ऐतिहासिक भूमिमा बालेन शाहले मैथिली भाषामा गरेको सम्बोधन विशेष थियो; त्यो मधेसको ‘साइकोलोजिकल वाल’ भत्काउने सचेत ‘इमोसनल इन्जिनियरिङ’ थियो । यही पृष्ठभूमिमा, बालेनले आफू प्रधानमन्त्री बन्ने सहमति भइसकेपछिको पहिलो चुनावी सभालाई मैथिली भाषामा सम्बोधन गर्नु ‘सिम्बोलिक’ थियो । बालेनले, मधेसी सभ्यताको भाषा, भाव र मर्यादा नै राष्ट्रिय राजनीतिका वैध र केन्द्रीय अङ्ग हुन् भन्ने मान्यता सार्वजनिक रूपमा स्थापित गरिदिए । बालेनको ‘अप्टिक्स’ ले मधेसलाई नेपाली राष्ट्रियताको ‘पेरिफेरी’ बाट निकालेर ‘कोर’ मा उभ्याइदिएको छ । प्रदेश सरकार अझ बलियो हुनुपर्छ भन्ने उनको वकालतले मधेसको ‘आइडेन्टिटी पोलिटिक्स’ लाई अब ‘डिग्निटिटी पोलिटिक्स’ ले विस्थापित गरेको छ । यही नै बालेन शाहको ‘प्यान-नेपाल लिडर’ स्वीकार्यताको मूल कारण बनिदियो ।

झापा–५ मा बालेनको उपस्थितिलाई जनताले खुलेर स्वागत गरेका छन्, उनलाई प्रत्यक्ष देख्न र सुन्न चाहनेहरूको भीड छ, सामाजिक सञ्जालमा उनका हरेक गतिविधि ‘रियल टाइम’ मा निगरानी भइरहेका छन्, विदेशमा रहेका नेपालीहरू समेत उनका दैनिक चुनावी गतिविधि के छन् भनेर चासोका साथ पछ्याइरहेका छन् । तर यही मुख्यधारको राजनीतिक ट्र्याजेक्टोरीभित्र गहिरा जटिलताहरू पनि समानान्तर रूपमा विकसित भइरहेका छन्; किनभने यही बिन्दुमा आएर बालेनको सम्भावित रास्वपा प्रवेश वा सहकार्य एउटा ‘ग्रे एरिया’ मा पनि उभिन्छ ।

पपुलिजमको एउटा नयाँ लहर कि नेपाली राजनीतिको ऐतिहासिक ‘प्याराडाइम सिफ्ट’? काठमाडौँको मेयरबाट राजीनामा दिएर सिधै राष्ट्रिय राजनीतिको ‘सेन्टर स्टेज’ मा उक्लिएका बालेन शाहले आज देशभर एउटा नयाँ विमर्शको भाषा र प्राथमिकता स्थापित गरिदिएका छन् । ‘जेनजी’ विद्रोहको जगमा उभिएर स्थापित शक्ति केन्द्रहरूलाई उनीहरूकै गढमा चुनौती दिइरहेका बालेनको यो यात्रा नेपाली लोकतन्त्रको नयाँ अध्याय बन्ला कि एउटा क्षणिक आवेग? यस लेखमा बालेन मेनियाको समाजशास्त्रीय र राजनीतिक पाटाहरू डिकोड गर्ने प्रयास गरिएको छ ।

गएको निर्वाचनमा रवि लामिछाने र बालेन शाहले सङ्घीयताको विरोध जनाउँदै प्रदेशसभामा मतदान नगर्ने निर्णय गर्दा रास्वपाको वैचारिक दिशा स्पष्ट नभएको प्रश्न उठेको थियो । बालेन शाहको जनकपुर भाषणमा प्रदेश सरकारको पक्षमा देखाइएको समर्थन त्यही ‘ड्यामेज कन्ट्रोल’ हो कि राष्ट्रिय स्वतन्त्र पार्टीको भविष्य रणनीतिक विमर्शको हिस्सा? समयले बताउला !

विशेषगरी राजतन्त्र र धर्मनिरपेक्षताजस्ता ‘पोलराइजिङ’ विषयमा बालेनको मौनतालाई धेरैले फरक-फरक नजरले हेर्ने गरेका छन् । इतिहासले सिकाएको एउटा कठोर सत्य के हो भने, ‘करिश्मा’ ले आन्दोलन त जन्माउँछ, तर ‘संस्था’ ले मात्र त्यसलाई बचाउँछ । बालेनको अगाडि उभिएको सबैभन्दा ठूलो प्रश्न यही हो । यतिखेर बालेनलाई मन पराउने धेरैले खोजेको कुरा के हो भने-राज्यको आधारभूत संरचनात्मक ढाँचा, शासकीय स्वरूप र जटिल भू-राजनीतिक सन्तुलनका विषयको एक ‘ब्लु-प्रिन्ट’ । बालेनका लागि अबको अग्निपरीक्षा भनेको आफ्नो लोकप्रियताको ‘सफ्ट पावर’ लाई एउटा ‘इन्स्टिच्युसनल लेग्यासी’ मा रूपान्तरण गर्नु हो । उनले बुझ्नुपर्छ कि ‘पपुलिजम’ एउटा शक्तिशाली स्टार्टर त हुन सक्छ, तर यो राज्य चलाउने इन्धन बन्न सक्दैन ।

जबसम्म कुनै विचार स्पष्ट राजनीतिक दर्शनमा रूपान्तरण हुँदैन, तबसम्म त्यो व्यक्तिमा मात्र सीमित हुन्छ । बालेन र रास्वपाजस्ता शक्तिहरूका लागि यो चुनौती झन् पेचिलो छ । के बालेनको ‘सांस्कृतिक मध्यमार्ग’ ले संविधानवाद, सङ्घीयता र शक्ति पृथकीकरणको आधुनिक लोकतान्त्रिक फ्रेमवर्कमा आफूलाई फिट गर्न सक्छन्? वा यो एउटा ‘पपुलिजमको लहर’ मात्र बनेर रहनेछ?

यदि यी प्रश्नहरूको उत्तर स्पष्ट र सार्वजनिक रूपमा दिइयो भने, यो सहकार्य नेपाली राजनीतिमा साँच्चै नयाँ अध्याय हुन सक्छ । तर यदि अस्पष्टता नै रणनीति बनिरह्यो भने, यो ‘नयाँ राजनीति’ पनि पुरानै रोग-सुविधाजनक मौनता-को अर्को संस्करण बन्ने खतरा बोकेर हिँड्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 2 =