काँग्रेस फेरि पनि पहिलो पार्टी बन्छ: अर्जुनरसिंह केसी

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले नेपाली काँग्रेस फेरि पनि पहिलो पार्टी बन्ने बताएका छन् ।
नेपाली काँग्रेस पार्टी कार्यालय सानेपामा पत्रकारहरूसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् ।
उनले काँग्रेसको विशेष महाधिवेशनपछि पार्टी र समग्र देशवासीमा नयाँ उत्साह र भरोसा सिर्जना गरेको बताए । उनले पार्टीका सबैलाई समेटेर एकीकृत रूपमा अगाडी बढ्नुपर्ने बताउँदै आगामी फागुन २१ गते हुने निर्वाचनमा फेरि पनि पहिलो दल हुने दाबी गरे । नेपाली काँग्रेस विघटित प्रतिनिधिसभाको पनि पहिलो दल हो ।
उनले भने ‘पार्टीको निम्ति र समग्र देशवासीको निम्ति उत्साह, नयाँ आशा र नयाँ भरोसा सिर्जना गरेको छ । यसलाई हामीले सबैलाई समेटेर एकीकृत रूपबाट हामी अगाडी बढ्नुपर्छ । नेपाली काँग्रेस फेरि पनि पहिलो पार्टी हुन्छौँ ।’
उनले पार्टी सभापति गगन थापा एकै निर्वाचन क्षेत्रबाट पटकपटक उम्मेदवार हुन नहुने मान्यता राखेर सर्लाही–४ बाट उम्मेदवार बन्नुभएको बताए । यसअघि पनि थापा मधेसमा जान खोजेका भए पनि परिस्थिति नमिलेको बताए ।
नेपाली काँग्रेस र लोकतन्त्रको मेरुदण्डको रूपमा रहेको मधेसलाई सभापति थापाले प्राथमिकतामा राखेर त्यहाँबाट उम्मेदवारी दिएको उनको भनाई छ ।








