हिउँदको कठ्याङ्ग्रिने चिसोमा भोटेकोसीको छालसँग पौँठेजोरी (तस्बिरहरू)

सिन्धुपाल्चोक। सामान्यतया गर्मी बढेसँगै सिन्धुपाल्चोकको सुकुटे क्षेत्रमा तल्लो भोटेकोसी (सुनकोसी) नदीमा जलयात्रा अर्थात् राफ्टिङ गर्न आन्तरिक पर्यटकको चाप बढ्न थाल्छ ।

गर्मी छल्न र नदीसँग रमाउँदै बिदा मनाउन उपत्यकाबासीका लागि सुकुटे एक महत्त्वपूर्ण गन्तव्यका रूपमा परिचित छ । प्रायः फागुनको मध्यदेखि असार–साउनको मध्यसम्म यहाँ राफ्टिङ सञ्चालन हुने गर्छ ।

राफ्टिङ आफैँमा साहसिक खेल हो । तर माघ महिनाको हिउँदमा कठ्याङ्ग्रिने चिसो पानीबीच भोटेकोसीसँग पौँठेजोरी खेल्नु अझै ठुलो साहस हो । सामान्यतया सुनसान रहने यो मौसममा पनि नदीमा साहस खोजिरहेका राफ्टरहरूको दृश्य आज हामीले तस्बिरमा कैद गरेका छौँ ।

भोटेकोसीको छालले डुंगामाथि हान्दा उछिट्टिएको चिसो पानी अनुहारमा पर्दा शरीर एक्कासि झस्किन्छ । तर राफ्टरहरूको आँखामा डरभन्दा ठुलो उत्साह देखिन्छ । टोलीगत समन्वयमा प्याडल चलाउँदै उनीहरू उग्र बहावसँग जुधिरहेका छन् ।

हिउँदमा नदीको बहाव कम भए पनि पानी अत्यन्तै चिसो हुने भएकाले यो समय राफ्टिङ चुनौतीपूर्ण मानिन्छ। अनुभवी गाइडको निर्देशन, पर्याप्त सुरक्षा उपकरण र टोलीको तालमेल बिना यस्तो साहस सम्भव नहुने राफ्टिङ स्टारका सञ्चालक दीपक कुमार राई बताउँछन् ।

चिसो मौसम, उग्र नदी र मानवीय जिद्दीताको संगमले हिउँदको राफ्टिङलाई फरक कथामा रूपान्तरण गरेको छ—जहाँ साहसले मौसमलाई जित्ने प्रयास गर्छ । हिउँदको भोटेकोसीमा राफ्टिङ दृश्य मात्र होइन, एउटा अनुभूति हो ।

चिसो पानी, तेज बहाव र मान्छेको आत्मविश्वासले बनाएको यो दृश्यले साहसिक पर्यटनको अर्को अनुहार उजागर गर्छ ।

तस्बिरहरुः–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − six =