एमालेमा ओलीको मनोमानी: कतिलाई टिकटै दिएनन्, पाउनेको पनि होल्डमै !

काठमाडौँ । नेकपा एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार चयन गर्दा व्यापक मनोमानी गरेको आरोप लागेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले टिकट वितरणमा आफू निकटका नेतालाई प्राथमिकता दिँदै आलोचक र चुनौती दिने नेताहरूलाई पाखा लगाएको भन्दै असन्तुष्टि बढ्दै गएको छ ।

ओलीले टिकट वितरणलाई आफ्ना विरुद्ध उभिएका नेताहरूमाथि राजनीतिक बदला लिने माध्यम बनाएका छन् । विशेष गरी पार्टीको महाधिवेशनमा आफूलाई चुनौती दिएका ईश्वर पोखरेल समूहका अधिकांश नेताहरू प्रत्यक्षतर्फको टिकटबाट वञ्चित भएका छन् भने केहीको नाम होल्डमा राखिएको छ ।

अध्यक्षमा ओलीसँग पराजित भएका ईश्वर पोखरेल ओखलढुंगाबाट सिफारिस भएका थिए । पोखरेलले त्यहाँबाट टिकट पाएनन् । पोखरेलको स्थानमा लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापालाई टिकट दिइएको छ ।

उता, चितवन–१ बाट एमालेका निवर्तमान केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डेको नाम नै सिफारिसमा नपरेको जनाइएको छ । ओलीले पाण्डेलाई पाखा लगाउँदै कृष्णराज पाठकलाई टिकट दिएका छन् ।

योगेश भट्टराईको टिकट होल्डमा

उपमहासचिव योगेश भट्टराईप्रति पनि अध्यक्ष ओलीको व्यवहार कठोर देखिएको छ । शनिबार च्यासलमा बसेको सचिवालय बैठकमै यसपटक जित्ने सम्भावना नदेखिएको भन्दै ओलीले योगेशलाई टिकट नदिने अडान लिएका थिए । त्यसपछि बैठकमै विवाद चर्किएको थियो ।

योगेशको प्रतिवादपछि ताप्लेजुङको टिकटसमेत होल्डमा राखिएको छ । ओली त्यहाँ आफ्ना निकट मानिने क्षितिज थेबेलाई अघि सार्न चाहेको बताइन्छ । यही कारण ताप्लेजुङमा उम्मेदवार टुंगो नलागी अध्यक्षकै निर्णयमा छाडिएको छ ।

गोकर्ण विष्ट अपवाद, अरू सबै बाहिर

ईश्वर पोखरेल समूहबाट गोकर्ण विष्टलाई मात्रै टिकट दिइएको छ । स्रोतका अनुसार विष्टले ओलीसँग लामो छलफल गरेपछि मात्र टिकट पाएका हुन् । गुल्मी–२ मा अर्की आकांक्षी रामकुमारी झाँक्रीलाई राष्ट्रिय सभामा व्यवस्थापन गरी गोकर्णलाई प्रतिनिधि सभातर्फ अघि बढाइएको हो ।

तर विगतमा माधव नेपाल–झलनाथ खनाल समूहमा रहेका विष्णु रिजाल, निरज आचार्य र झपट रावलजस्ता युवा नेताहरू भने टिकटबाट वञ्चित भएका छन् । दैलेख–२ मा आन्तरिक निर्वाचनबाट सर्वाधिक मत ल्याएका केन्द्रीय सदस्य विष्णु रिजालले समेत टिकट पाएनन् ।

यति मात्रै होइन्, पार्टीको महाधिवेशनमा महासचिवमा लडेका सुरेन्द्र पाण्डे, सचिवमा लडेका गोकुल बास्कोटा, कृष्णगोपाल श्रेष्ठ, विनोद ढकाल, कर्णबहादुर थापा, गणेश पहाडी, झपट रावल, तारा लामा र ठाकुर गैरेलगायत नेताहरूप्रति ओलीले प्रतिशोध साँधेको आरोप छ ।

काभ्रे–१ मा गुण्डागर्दीबाट उदाएको आरोप लागेका अमित लामाले सिधै टिकट पाउँदा काभ्रे–२ मा लगातार चुनाव जित्दै आएका गोकुल बास्कोटाको टिकट होल्डमा राखिएको छ । यसले पनि टिकट वितरणको मापदण्डमाथि गम्भीर प्रश्न उठाएको छ ।

यस्तै, गोरखा–२ बाट आपराधिक पृष्ठभूमि भएका मिलन गुरुङ उर्फ चक्रे मिलनलाई टिकट दिइएको विषयले पनि विवाद निम्त्याएको छ । उक्त क्षेत्रबाट यसअघि नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएका थिए ।

पाल्पामा विष्णु पौडेल, ठाकुर गैरे निराश

रुपन्देही–२ मा प्रतिस्पर्धा कठिन हुने देखिएपछि उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ सरेका छन् । पाल्पा–२ ठाकुर गैरेको निर्वाचन क्षेत्र हो । यसअघि उक्त क्षेत्रमा गैरे विजयी भएका थिए । यसपटक भने गैरेलाई टिकट नदिई पौडेललाई अघि सारिएपछि पार्टीभित्र विरोध भइरहेको छ ।

एमाले पाल्पाका एक नेताले गैरेमाथि अन्याय भएको भन्दै टिकटमा पुनः विचार गर्न ओलीसँग आग्रह गरेका छन् । पार्टीका धेरै नेता–कार्यकर्ताले पार्टी नेतृत्वले सुनियोजित रूपमा गैरेको राजनीतिक करिअर नै धरापमा पार्न खोजेको आरोप लगाइरहेका छन् ।

अध्यक्ष ओली भने आफ्नो परम्परागत क्षेत्र झापा–५ बाटै उम्मेदवार बन्ने भएका छन् । झापा–५ मा काठमाडौँ महानगरका मेयर तथा रास्वपा नेता बालेन्द्र साह र नेकपाका युवा नेता रञ्जित तामाङले ओलीलाई चुनौती दिने तयारी गरेका छन् ।

टिकट वितरणको शैलीलाई लिएर बढ्दो असन्तुष्टि, असमान मापदण्ड र नेताहरूमाथि भएको व्यवहारले एमालेभित्र तनाव बढेको छ । निर्वाचन नजिकिँदै गर्दा टिकट वितरणमा देखिएको मनोमानीले पार्टीको चुनावी परिणाममै असर पार्न सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 6 =