अझ संयमित र एकताबद्ध भएर अगाडी बढ्न आवश्यक: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले थारु समुदायको मौलिक संस्कृति, भाषा र पहिचानको संरक्षण र प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।
बिहीबार काठमाडौँमा आयोजित थारु राष्ट्रिय माघी महोत्सवको सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले नेपालमा पश्चिमको कञ्चनपुरदेखि पूर्वको झापासम्म र तराई मधेसका विभिन्न जिल्लामा बसोबास रहेको थारु समुदाय देश विदेशमा समेत फैलिँदै गएको बताइन् । जो जहाँ पुगे पनि आफ्नो मौलिक संस्कृति, भाषा, पहिचान र परम्परालाई सबैले अनुसरण गर्नुपर्ने उनको भनाई छ ।
उनले माघ १ गते नेपालका विभिन्न समुदायहरूले फरक फरक नाम, शैली र परम्पराअनुसार चाडपर्व मनाउने गरेको बताइन् । चाडपर्व मनाउने शैली फरकफरक भएपनि त्यसको मर्म एउटै रहेको उनको भनाई छ । उनले आपसी सम्मान, एकता, सद्भाव र सह–अस्तित्व नै सबै चाडपर्वको मर्म भएको उल्लेख गरे ।
उनले आपसी सद्भाव, विश्वास, सहकार्यका माध्यमबाट मुलुकलाई शान्ति, स्थायित्व र समृद्धितर्फ अग्रसर गराउनु आजको राष्ट्रिय आवश्यकता भएको बताए ।
उनले भने ‘पश्चिमको कञ्चनपुरदेखि पूर्वको झापासम्म, तराई मधेसका विभिन्न जिल्लामा सघन बसोबास रहेको थारु समुदाय आज काठमाडौँमा हुँदै देश विदेशमा फैलिएको छ । जहाँ पुगे पनि आफ्नो मौलिक संस्कृति, भाषा, पहिचान र परम्परा हाम्रो साझा दायित्व हो । यही चेतनको प्रतिकका रूपमा आज हामी काठमाडौँमा यति भव्य रूपमा माघी पर्व मनाईरहका छौँ । यही नै हामी नेपाली हुनुको सुन्दर विशेषता हो । माघ १ गतेको दिन नेपालका विभिन्न समुदायहरूले फरक फरक नाम, शैली र परम्परा अनुसार चाडपर्व मनाउने गरेका छौँ । तर चाडपर्व मनाउने शैली फरकफरक भएपनि त्यसको मर्म एउटै छ, आपसी सम्मान, एकता, सद्भाव र सह–अस्तित्व । हामी विविध छौँ, तर एउटै छौँ । हामी बहुल छौँ, तर सँगै छौँ । हामी धेरै भएर नै पूर्ण छौँ । विश्वमान चित्रमा नेपाल एकता, सद्भाव र सह–अस्तित्वको अनुपम उदाहरण बनेर उभिएको छ । यही नै हाम्रो मौलिक पहिचान हो । यो नै हाम्रो शक्ति हो । आजको समय हामी सद्भाव, विश्वास, सहकार्यका माध्यमबाट मुलुकलाई शान्ति, स्थायित्व र समृद्धितर्फ अग्रसर गराउनु राष्ट्रिय आवश्यकता बनेको छ । वर्तमान विशिष्ट परिस्थितिमा हामी सबै अझ संयमित र एकताबद्ध भएर अगाडी बढ्न आवश्यक छ । त्यसकारण यस सांस्कृतिक पर्वहरूको मर्म आत्मसाथ गर्दै समाजमा शान्ति सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सरकार, समुदाय र नागरिकले सबैले आ–आफ्नो स्थानमा सक्रिय भूमिका खेल्नुपर्छ । थारु समुदायको मौलिक संस्कृति, भाषा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्न सरकार सदैव प्रतिबद्ध छ ।’
उनले वर्तमान परिस्थितिमा अझ संयमित र एकताबद्ध भएर अगाडी बढ्नुपर्ने आवश्यकता औँल्याइन् ।








