माघे सङ्क्रान्ति: देवघाट जानआउँन निःशुल्क बस सेवा

चितवन । माघे सङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठवटा बसले निःशुल्क सेवा दिएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनको सक्रियतामा प्याप्सनको सहयोगमा देवघाट जाने–आउने भक्तजनहरुलाई निःशुल्क बस सेवा सुरु गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार आज बिहान ६ः३० बजेदेखि भरतपुर महानगरपालिका-१ आँपटारीबाट बसहरुले सेवा दिन सुरु गरेका हुन । देवघाट क्षेत्रबाट देवघाट जाने र फर्कने तीर्थालुहरुलाई सेवा दिइने छ । भक्तजनको चाप भएसम्म बसले सेवा दिने उनले बताए । ‘ज्येष्ठ नागरिक तथा अन्य भक्तजनहरुलाई लक्षित गर्दै निःशुल्क बस सेवा सुरु गरेका हौँ,’ सीडीओ अर्यालले भने ।
भक्तजनहरुलाई राजमार्गसम्म आउन समस्या नपरोस् भनेर आँपटारी हुँदै रामनगर, देवघाट हुँदै पुनः आँपटारीसम्म सेवा दिने अर्यालले बताए । माघेसङ्क्रान्तिको अवसरमा हरेक वर्ष देवघाटमा स्नान गर्ने, मेला भर्न आउनेको उपस्थिति उलेख्य हुने गरेको छ । ज्येष्ठ नागरिकहरुलाई पैदलयात्रामा समस्या हुन सक्ने भन्दै निःशुल्क बस सेवा दिन लागिएको हो ।
देवघाटमा तीन लाख भक्तजन स्नान गर्न आउने अनुमान देवघाट क्षेत्र विकास समितिले गरेको छ । बुधबार बिहान वेणीमा लिङ्गो ठडाएर मकरसङ्क्रान्ति मेलाको सुभारम्भ गरिएको छ ।









