बोहराको निधनमा सभापति देउवा स्तब्ध: ‘कांग्रेसले एक निष्ठावान नेता गुमायो’

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य तथा पार्टीका प्रभावशाली नेता बलदेव बोहराको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । बोहराको निधनको खबरले आफूलाई मर्माहत बनाएको उल्लेख गर्दै सभापति देउवाले सामाजिक सञ्जालमार्फत भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

उनले बोहरालाई आफ्नो पुरानो र विश्वासिलो मित्रका रूपमा स्मरण गर्दै उनको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताएका छन् । देउवाले लेखेका छन्, ‘मेरा प्रिय मित्र एवं राष्ट्रिय सभा सदस्य बलदेव बोहराको असामयिक निधनको खबरले म स्तब्ध भएको छु । उहाँको निधनले नेपाली कांग्रेसले एक असल, निष्ठावान र शालिन नेता गुमाएको छ ।’

पार्टी संगठन र लोकतान्त्रिक आन्दोलनमा बोहराले पुर्‍याएको योगदानको कदर गर्दै सभापति देउवाले दिवंगत आत्माको चिर शान्तिको कामना गरेका छन् । साथै, यस कठिन घडीमा शोक सन्तप्त परिवारजनप्रति उनले गहिरो समवेदना प्रकट गर्दै धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना समेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − nine =