गगन थापा र विश्वप्रकाश शर्मालाई कांग्रेसले गर्यो कारबाही

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरेको आरोपमा कारबाही गरेको छ । पार्टीको केन्द्रीय कार्यसमिति बैठकले उनीहरूमाथि अनुशासनात्मक कारबाही अघि बढाउने निर्णय गरेको हो ।
महामन्त्री थापा र शर्मासहित सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई ५ वर्षको कार्बाही गर्ने निर्णय भएको एक नेताले मकालुखबरलाई बताए ।
विशेष महाधिवेशन पक्षधरले ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित माग गरेको विशेष महाधिवेशनलाई संस्थापन पक्षले बेवास्ता गर्दै आएको थियो ।
महामन्त्रीद्वय थापा र शर्माले पार्टीको नियमित महाधिवेशन पुसमा सम्भव नभएपछि वैशाखमा गर्ने केन्द्रीय समितिको सहमतिमा फरक मत राख्दै विशेष महाधिवेशन आह्वान गरेका थिए ।
उनीहरूले भृकुटीमण्डपमा बन्द सत्रमार्फत निर्णयलाई अन्तिम ठहर गर्दै निर्वाचन समिति गठन गरी चुनावी प्रक्रिया अघि बढाएका छन् ।
स्रोतका अनुसार थापा र शर्माले विशेष महाधिवेशनमा सभापति पदमा गगन थापाको एकल मनोनयन दर्ता गराएका छन् । निर्वाचन समितिले अन्य पदाधिकारीहरूका लागि पनि मनोनयन प्रक्रिया पूरा गरेको बताइएको छ । यसले पार्टी फुटको स्थिति नजिक पुगेको छ ।
पार्टी विभाजन रोक्न विभिन्न चरणमा वार्ता भए पनि सफलता मिलेन । मंगलबार तीन चरणको छलफल भए पनि कुनै निकास निस्किएन ।
आज बिहानमात्रै महामन्त्रीद्वयले सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए, तर सहमति जुट्न सकेन । यसपछि विशेष पक्षले निर्वाचन समितिलाई कारबाही अघि बढाउन निर्देशन दिएको थियो ।
संस्थापन पक्षका नेताहरूले विशेष महाधिवेशनलाई विधानविपरीत ठहर गर्दै आएका छन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले यसअघि महामन्त्रीहरूले धोका दिएको आरोप लगाउँदै पार्टी फुट नजिक पुगेको बताएका थिए ।









