हाफ म्याराथनको उपाधि गुरुङलाई

तनहुँ । व्यास नगरपालिका–६ बाह्रबिसे युवा क्लबले आज आयोजना गरेको व्यासगुफा–गलेखामकोट अल्ट्रा हाफ म्याराथनको उपाधि आँबुखैरेनीका सनम गुरुङले जितेका छन् ।

चौतीस धावकलाई पछाडि पार्दै व्यास–३ व्यास गुफादेखि व्यास–६ गलेखामकोटसम्मको २१ किलोमिटर दूरीको म्याराथनमा गुरुङ प्रथम भएका हुन् ।

म्याराथनमा शुक्लागण्डकी नगरपालिकाका टोपबहादुर कुमाल द्वितीय र भानु नगरपालिकाका आदित्य जिसी तृतीय भएका छन् ।

विजेतालाई क्रमशः ३५ हजार, २५ हजार र १५ हजार पुरस्कार प्रदान गरिएको क्लबका अध्यक्ष ज्ञानबहादुर गुरुङले जानकारी दिए ।

दुई धार्मिक तथा पर्यटकीय स्थल व्यासगुफा र गलेखामकोटलाई खेलकुदको माध्यमबाट जोड्ने र दुवै ठाउँको पर्यटन प्रवर्धन गर्ने लक्ष्यसहित हाफ म्याराथन गरिएको उनले जानकारी दिए ।

व्यासका नगर प्रमुख वैकुण्ठ न्यौपानेले खेलकुदले दुई ठाउँको धार्मिक पर्यटन प्रचारप्रसारमा सहयोग पुग्ने धारणा राखे ।

उनले भने, ‘व्यास गुफा महत्त्वपूर्ण धार्मिक स्थल हो, गलेखामकोट धार्मिक र ऐतिहासिक हिसाबले महत्त्वपूर्ण कोट हो, त्यसको विकास र प्रवद्र्धनका लागि जुटेका छौं ।’ म्याराथनले गलेखामकोटसम्म भावनात्मक हिसाबले सम्बन्ध जोड्न सहयोग पुगेको बताउँदै नगरप्रमुख न्यौपानेले गलेखामकोटको थप प्रचारप्रसार गर्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिए ।

नगरपालिकाले माघ १६ गते मानुङकोटदेखि पुलिमराङसम्म अल्ट्रा म्याराथन आयोजना गर्न लागेको बताउँदै नगरप्रमुख न्यौपानेले खेललाई पर्यटनसँग जोडेर जानुपर्ने धारणा राखे ।

व्यास–६ का वडाध्यक्ष एवं नगर खेलकुद विकास समितिका अध्यक्ष जीवन गुरुङले गलेखामकोटलाई पर्यटकीय हिसाबले विकास गर्ने उद्धेश्यसहित म्याराथन आयोजना गरिएको उल्लेख गरे ।

उनले भने, ‘यसले भोलिका दिनमा व्यास–६ लाई अगाडि बढाउन सहयोग पुग्नेछ । यसलाई पर्यटकीय हिसाबले विकास गर्न सकिए स्थानीयको आर्थिक सवलीकरणमा टेवा पुग्नेछ ।’

यसैबीच क्लबले भोलिदेखि वडा स्तरीय भलिबल प्रतियोगितासमेत आयोजना गरेको छ । भलिबल प्रतियोगितामा विजेतालाई ४० हजार, ट्रफी र मेडल तथा उपविजेतालाई २५ हजार, ट्रफी र मेडल प्रदान गरिनेछ । यस्तै सेमिफाइनल पुग्ने दुई टोलीलाई जनही १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

गलेखामकोट समुन्द्री सतहबाट एक हजार ३०० मिटर उचाइमा अवस्थित छ । यहाँबाट जिल्लाकै व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र लमजुङको मध्यनेपाल नगरपालिकाका केही भाग देख्न सकिन्छ ।

पृथ्वी राजमार्ग अन्तर्गत कन्टारबाट पश्चिम लागेपछि पुगिन्छ पर्यटकीय स्थल गलेखामकोट–कन्टारदेखि साँगे हुँदै पुगिने गलेखामकोट सदरमुकाम दमौलीदेखि नजिक रहेर पनि ओझेलमा परेको ठाउँ हो ।

आधा जसो पक्की र आधा जसो कच्ची सडक हुँदै पुगिने यस ठाउँमा सडकको असुविधाका कारण पर्यटक कम पुग्ने गरेका छन् । कुनै बेला मगर राजाले समेत राज्य गरेको यस ठाउँ ओझेलमा परेपछि स्थानीयवासी यसको प्रवद्र्धनमा जुटिरहेको वडाध्यक्ष गुरुङको भनाइ छ ।

यहाँबाट सदरमुकामको दमौली, शुक्लागण्डकी नगरपाकिालस्थित थप्रेक, व्यास नगरपालिकास्थित कलेस्ती, सिसाघाट, लमजुङको भोर्लेटार, सोतीपसल, दुइपिप्ले, कास्कीको फेवाताल, बेगनास ताल तथा विभिन्न ठाउँको रमणीय दृश्य देख्न सकिन्छ ।

गलेखामकोटमा नेवार समुदायको बाहुल्यता छ । गलेखामकोटमा भ्युटावर समेत बनेको छ । यहाँ वि.सं २०७६ सालमा १६ लाख ५० हजारको लागतमा भ्युटावर निर्माण गरिएको थियो ।

तीन तलाको दृश्यावलोकन स्तम्भबाट एकैपटकमा २० भन्दा बढी पर्यटकले दृश्यावलोकन गर्न मिल्नेछ । यहाँबाट कास्कीको फेवाताल, माछापुच्छ्रे, धवलागिरी, अन्नपूर्ण, मनास्लु लगायतका हिमश्रृङ्खला देख्न सकिन्छ ।

गलेखामकोट बाइसे चौबीसे राज्यको पालामा चक्रधारी राजाले शासन गरेको ठाउँ हो । यहाँ रहेको कोटभैरव मन्दिरमा दशैंका बेला विशेष पूजाआजा हुने गरेको छ ।

बडादशैंको नवमीको दिन मन्दिरमा पञ्चबली दिने प्रचलन रहेको स्थानीयवासी मनिता गुरुङले जानकारी दिइन् । मन्दिरमा राना जातिले पूजारी र ब्राम्हण जाति पुरोहितको रूपमा काम गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =