देउवाले लचकता देखाए पनि गगनको बार्गेनिङ प्रधानमन्त्रीमा !

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट पार्टी फुटको संघारमा पुगेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी जोगाउन ठुलो लचकता देखाए पनि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नमान्दा पार्टी फुटको संघारमा पुगेको हो ।
महामन्त्रीसँगको छलफलमा सभापति देउवाले सहमतिका लागि लचकता देखाए पनि गगन–विश्वले सहमति नगरेको खुलासा भएको छ ।
सभापति देउवाले महामन्त्रीले राखेका सबै मागमा सहमति जनाएका थिए । तर देउवाले चुनाव लड्न नपाउने माग र अहिले नै सभापतिबाट राजीनामा दिनुपर्ने मागमा भने सहमति जनाएनन् । महामन्त्री थापा र शर्माले देउवालाई पदबाट राजीनामा, आगामी निर्वचनमा उम्मेदवार बन्न नपाउने र उम्मेदवारको टिकटमा हस्ताक्षर गर्न नपाउने लगायतका माग राखेका थिए । सभापति देउवाले यी मागमा लचकता देखाए पनि थापा र शर्माले सहमति गरेनन् ।
महामन्त्रीहरू विशेष महाधिवेशनबाट पार्टी नै फुटाउने तयारीमा लागेको देउवा निकट स्रोतले जनायो । बुधवार बिहान देउवा निवासमा भएको गोप्य वार्तामा देउवाले पार्टी एकताको लागि नियमित महाधिवेशनबाट सबैथोक छोड्छु भन्दै प्रस्ताव राखेका थिए । तर गगनले यो प्रस्तावलाई अस्वीकार गरेका थिए ।
महामन्त्रीद्धयले सभापति देउवासँग प्रधानमन्त्री पदसम्मको बार्गेनिङ प्रस्ताव राखेका थिए । उनले अहिले नै आफूलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जानुपर्ने माग राखेको स्रोतले बतायो ।
सभापति देउवाले भने प्रधानमन्त्री बनाउने अधिकार सुम्पिसकेपछि आफूले प्रधानमन्त्री बनाउन नसक्ने जवाफ दिएका थिए । खासगरि महामन्त्री थापाले पार्टीभित्रको अधिकारलाई पूर्ण रूपमा आफ्नो हातमा लिन चाहेको देउवा निकट नेताले बताए । ‘गगनको अडानले देउवासँग सहमतिको ढोका बन्द भएको छ’ ती नेताले भने ।
महामन्त्रीद्वयले सभापति देउवासँग सहमतिका लागि पठाएका आठ बुँदा
१) विशेष महाधिवेशनको स्वामित्व साझा रूपमा लिने
२) परिमार्जनसहित पारित प्रस्तावहरू कार्यान्वयन गर्ने
३) सभापतिले सक्रिय भूमिका निर्वाह नगर्ने, त्यस क्रममा उम्मेदवारी पत्रमा सभापतिले हस्ताक्षर नगर्ने
४) उम्मेदवार चयन गर्न संसदीय बोर्ड गठन गर्ने
५) आगामी निर्वाचनमा एक ढिक्का भएर मैदानमा जाने
६) कुनै पनि दलसँग गठबन्धन नगरेर नेपाली कांग्रेसले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने
७) नेपाली कांग्रेसबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने
८) यी सबै कार्य समन्वय र कार्यान्वयन गराउन ५ सदस्यीय संरचना गठन गर्ने, जसमा कार्यवाहक सभापति र दुई महामन्त्री बाहेक थप दुई नेता रहने।
यसैबिच, गगन थापामाथि अदालतदेखि विदेशी निकायसम्मसँग चलखेल गरेको गम्भीर आशंका पनि उब्जिएको छ । स्रोतहरूका अनुसार विशेष महाधिवेशनलाई वैधानिक बनाउनका लागि गगन पक्षले अदालतमा मुद्दा दायर गर्ने तयारी गरिरहेको र केही विदेशी दूतावाससँग सम्पर्कमा रहेर लोकतान्त्रिक मूल्य र पार्टी सुधारको बहानामा समर्थन जुटाउने प्रयास गरेको आरोप लागेको छ ।
‘उनीहरूले अदालतलाई प्रभावित गर्ने र अन्तर्राष्ट्रिय निकायबाट दबाब सिर्जना गर्ने रणनीति अपनाएका छन्,’ देउवा पक्षका एक नेताले भने ‘यो पार्टीको आन्तरिक कुरा हो, तर विदेशी हस्तक्षेपको आशंका बढ्दो छ ।’
देउवासँग सहमति नभए आज विशेष महाधिवेशनले कांग्रेसको नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वका लागि निर्वाचन भएसँग कांग्रेस औपचारिकरुपमा फुट्ने बाटोमा जानेछ ।
सभापतिमा गगन थापाको एकल उम्मेदवारी परिसकेको छ भने महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् ।









