सरकारले निष्पक्ष निर्वाचन गराउँछ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारले निष्पक्ष निर्वाचन गराउने बताएका छन् ।

बुधवार मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले यस्तो बताएका हुन् ।

दलिय पक्षधरताबाट मुक्त रहेको वर्तमान सरकारले निष्पक्ष र धाँदलीरहित निर्वाचन गराउने उनको दाबी छ । उनले वर्तमान संविधानलाई यथावत् कायम गर्नको लागी पनि तोकिएकै समय निर्वाचन हुनुपर्ने बताए ।

उनले वर्तमान संविधान र व्यवस्थालाई कायम राख्नुपर्ने भएकोले निर्वाचन अपरिहार्य रहेको उल्लेख गरे । उनले स्वतन्त्र नागरिकको सरकार भएकोले वर्तमान सरकारले कसैको पनि पक्षधरता नलिने बताए ।

उनले भने, ‘विद्रोहपछि पनि यो संविधान यथावत् रूपमा बहाली हुनुपर्छ । विद्रोहले गर्दा तत्कालीन अवस्थाको संवैधानिक सरकारको म्याण्डेडबीचमा भंग भइसकेपछि र प्रतिनिधि सभाको म्याण्डेड बीचमा भंग भइसकेपछि पनि फेरि संवैधानिक व्यवस्था त्यही बहाली हुनुपर्छ । त्यही नै सुचारु हुनुपर्छ । संसद विघटन भएको ६ महिनाभित्र चुनाव गराउनुपर्छ भन्ने व्यवस्था संविधानमा छ । त्यो चुनाव गराउने र चुनाव गर्दाखेरि पनि कनै दलिय पक्षधरता नभएको स्वतन्त्र व्यक्तिहरूको सरकारले जसमा पूर्व प्रधानन्यायधीश सुशिला कार्की नै प्रधानमन्त्रीको रूपमा हुनुहुन्छ । निष्पक्षताको, स्वतन्त्रताको प्रतिकको रूपमा मानिन्छ पूर्व प्रधानन्यायधीशलाई । निष्पक्ष सरकारको जन्म भएको छ, यसले चुनाव मात्रै गराउँदैन, निष्पक्ष चुनाव गराउँछ । दलिय पक्षधरताबाट मुक्त भएको निष्पक्ष धाधलीरहित चुनाव गराउँछ ।’

उनले वर्तमान सरकार बनेपछि सुरक्षा फौजको मनोबल पनि बढ्दै गएको बताए । हाल नागरिक र सुरक्षा निकायबीच सहकार्यको वातावरण बनिसकेको उल्लेख गर्दै उनले यसलाई निरन्तरता दिने बताए ।

उनले वर्तमान सरकारले सबैलाई समान व्यवहार गर्ने पनि जानकारी दिए । उनले आफूले जोखिम लिएर भए पनि प्रहरीको मनोबल बढाउन काम गरेको बताए ।

गृहमन्त्रालयमा केही व्यक्तिहरूले हस्तक्षेप गर्न नपाएर आफ्नो आलोचना समेत गरिएको उनको भनाई छ । उनले आफूले आलोचना सहेर नै मन्त्रालय र सुरक्षा निकायमा अनुचित हस्तक्षेप हुन नदिएको दाबी गरे ।

उनले भने, ‘यो सरकार बन्नेवित्तिकै सुरक्षा फौजको मनोबल बढेको हो । नागरिकको मनोबल बढेको हो । नागरिकले सुरक्षा फौजसँग सहकार्य गर्न थाल्नुभएको हो । यसलाई हामीले निरन्तरता दिन्छौँ । यो ठुलो क्रमभंगता पनि हो । विगतमा सुरक्षा फौजलाई गृहप्रसाशनलाई दुरुपयोग पनि गरिए होला । कुनै बर्दीधारीलाई दुरुपयोग गर्दा मनोबल बढ्छ की खस्किन्छ ? पक्कै पनि मनोबल खस्किन्छ, एकाधलाई काखाँ च्याप्दा बाँकी सुरक्षाकर्मीको, कर्मचारीको मनोबल गिर्ने अवस्था हुन्थ्यो । अहिले हामीले त्यो हुन दिएका छैनौ । अहिले हामीले मनोबल बढाउनको लागी निष्पक्षतालाई पहिलो आधार बनाएका छौँ । अहिलेको सरकार अहिलेको मन्त्रीहरू हामी जोखिममा परेर भए पनि हजुरहरूको मनोबल बढाउनको लागी, मर्यादालाई अझै बढाउनको लामी हामी खडा भएका छौँ । गृहमन्त्रीको हैसियतमा मैले धेरै आलोचना खेपेर भए पनि, मैले विषै पिईदिएर भए पनि मेरो मन्त्रालय र मातहतको कुनै पनि निकायमा अनुचित हस्तक्षेप हुन दिएको छैन, कुनै पनि नाममा । पुरानो राजनीतिक दलको नाममा होस् या नयाँ विद्रोहबाट आउनुभएको साथीहरू मध्ये केही जसले चाहिँ अकै किसिमको इच्छा राख्नुभएको थियो । तर म आफू जोखिममा परेर भए पनि मैले त्यो खालको हस्तक्षेप हुन दिएको छैन ।’

उनले हाल जेनजी आन्दोलनपछि संकटमा गएको देशलाई वर्तमान सरकारले सुरक्षित ढंगले व्यवस्थापन गरेको पनि दाबी गरे । उनले प्रहरीलाई उच्च मनोबलको साथ काम गर्न पनि आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − two =