माछापुच्छ्रे बैंक र टेनपेबीच साझेदारी, चिनियाँ पर्यटकलाई नेपालमा डिजिटल भुक्तानी सहज

काठमाडौं । नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकहरूको डिजिटल भुक्तानीलाई थप सरल र सुरक्षित बनाउन माछापुच्छ्रे बैंकले ठूलो पहल गरेको छ । बैंकले चीनको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ‘टेनपे पेमेन्ट’सँग अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदान गर्ने सम्बन्धी रणनीतिक सम्झौता गरेको छ । टेनपे पेमेन्ट चीनमा निकै लोकप्रिय रहेको ‘ह्वीच्याट पे’ सञ्चालन गर्ने आधिकारिक संस्था हो ।

सहकार्यसँगै अब नेपाल आउने चिनियाँ पर्यटकहरूले आफूले उपभोग गरेका सेवा वा खरिद गरेका सामग्रीको भुक्तानी ह्वीच्याट पेमार्फत नै गर्न सक्नेछन् । यस व्यवस्था अन्तर्गत चिनियाँ पर्यटकहरूले नेपालका व्यापारिक प्रतिष्ठानहरूमा भुक्तानी गर्दा आफ्नो मोबाइलमा रहेको ह्वीच्याट पेमार्फत चिनियाँ मुद्रा (सीएनवाई) मा कारोबार गर्नेछन् । तर, नेपाली व्यवसायीहरूले भने सो रकमको भुक्तानी सोझै नेपाली रुपैयाँमा आफ्नो बैंक खातामा प्राप्त गर्नेछन् । यसले मुद्रा सटहीको झन्झट हटाउनुका साथै कारोबारलाई छिटो र पारदर्शी बनाउनेछ ।

माछापुच्छ्रे बैंकका अनुसार यो सेवाले नेपालको पर्यटन, खुद्रा व्यापार तथा सेवा क्षेत्रमा नयाँ उर्जा थप्नेछ । प्रत्यक्ष डिजिटल कारोबार हुँदा चिनियाँ पर्यटकहरूलाई नगद बोक्नुपर्ने बाध्यता हट्ने र यसले सुरक्षित डिजिटल इकोसिस्टमलाई प्रोत्साहन गर्ने बैंकको विश्वास छ । यो सम्झौताले नेपाल सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’ र नेपाल राष्ट्र बैंकको ‘नगदरहित अर्थतन्त्र’ निर्माण गर्ने रणनीतिक पहललाई समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − six =