नयाँ नेतृत्व चयन गरेर अघि बढ्नुपर्नेमा काँग्रेस नेताहरूको जोड

काठमाडौँ । नेपाली काँग्रेसका नेताहरूले नयाँ नेतृत्व चयन गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्माको नेतृत्वमा आयोजित विशेष महाधिवेशनको बन्द सत्रमा सहभागी भएका उनीहरूले पार्टीको नीति र नेतृत्व परिवर्तन गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका हुन् ।
सिन्धुपाल्चोकका महाधिवेशन प्रतिनिधि वंशलाल तामाङले पार्टीको नयाँ नेतृत्व चयन गरेर जानुपर्ने आफूहरूको निष्कर्ष रहेको बताए । उनले निर्वाचनमा जानका लागि पनि युवाहरूलाई नेतृत्वमा ल्याउने गरी आफूहरूले विशेष महाधिवेशन आयोजना गरेको समेत बताए ।
तामाङले भने ‘पार्टीको नीति र नेतृत्व दुवै परिवर्तन हुन्छ । हामी निर्वाचनलाई केन्द्रित गरेर नै नीति र नेतृत्व चयन गर्न विशेष महाधिवेशनमा सहभागी भएका हौँ ।’
उनीहरूले विशेष महाधिवेशन विधानसम्मत भएको जिकिर गर्दै त्यसले नयाँ नेतृत्व चयन गरेर काँग्रेसलाई अघि बढाउनुपर्ने बताएका छन् । बाराका महाधिवेशन प्रतिनिधि विष्णु खड्काले नीति र नेतृत्व दुवै परिवर्तन गरेर आफूहरू अघि बढ्ने निष्कर्षमा पुगेको बताए ।
उनले भने ‘जसको नीति उसकै नेतृत्व भन्ने सुझाव दिएका छौ । त्यो पास हुन्छ । अहिले समूहगत छलफल हुदैँछ । बन्द सत्रमा आएका सुझावको आधारमा राजनीतिक तथा सांगठानिक प्रतिवेदन पारित हुन्छ । नियमित महाधिवेशन हुन नसक्ने भएपछि विशेष महाधिवेशन गरिएको हो । यो पार्टीको विधानअनुसार हुन्छ । ’
महोत्तरीका सीताराम भण्डारीले पार्टी नेतृत्वलाई तत्काल राजीनामा दिएर नयाँ नेतृत्वको लागि मार्ग प्रशस्त गर्नुपर्ने बताए । उनले पार्टी सभापति शेरबहादुर देउवालगायतका पार्टी नेतृत्वलाई पदमा बस्ने नैतिक तथा कानुनी दुवै अधिकार नरहेको जिकिर समेत गरे ।
भण्डारीले भने ‘यो अधिवेशन परिणाममुखी हो । म जिस्टमा के भन्छु भने–यो अधिवेशन नेपाली आमाको मुख फेर्ने र काँग्रेसलाई जीवन्त बनाउने अधिवेशन हो । अहिलेको नेतृत्व पङ्क्तिलाई स्थापित गरेको हुनाले उनीहरूलाई अव नेतृत्वमा बस्ने कानुनी र नैतिक अधिकार छैन । पदबाट राजीनामा दिएर त्यो काम गर्नु पर्दछ ।’
बाजुराका महाधिवेशन प्रतिनिधि योगेन्द्र रावलले पनि पार्टीलाई नयाँ नेतृत्व चयन गरेर अघि बढाउन आफूहरू लागि परेको बताए ।








