नेपाली बजारमा सुनचाँदीको मूल्यले रच्यो नयाँ इतिहास

काठमाडौं । नेपाली बजारमा पहेँलो धातु सुन र चाँदीको मूल्यले सोमबार नयाँ कीर्तिमान कायम गरेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको भू-राजनीतिक उथलपुथल र अस्थिरताका कारण आन्तरिक बजारमा पनि सुन र चाँदीको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि सुनको मूल्यमा एकैदिन प्रतितोला ४ हजार १ सय रुपैयाँको भारी वृद्धि भएको छ । नयाँ दर निर्धारण भएसँगै छापावाल सुनको कारोबार प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँ पुगेको छ । आइतबार सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै चाँदीको भाउले पनि नयाँ उचाइ छोएको छ । आइतबारको तुलनामा प्रतितोला २०५ रुपैयाँले बढेर चाँदी ५ हजार १९५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी ४ हजार ९९० रुपैयाँमा स्थिर रहेको थियो ।
किन बढिरहेको छ भाउ ?
अन्तर्राष्ट्रिय कमोडिटी बजारमा सुनको मूल्यले प्रतिऔंस ४ हजार ५५० अमेरिकी डलरको सीमा नाघेको छ । त्यसैगरी चाँदीको मूल्य पनि प्रतिऔंस ८३ डलरभन्दा माथि पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा आएको यो अकल्पनीय बढोत्तरीको मुख्य कारण संयुक्त राज्य अमेरिकाको पछिल्लो वैदेशिक नीति र सिर्जित विश्वव्यापी तनावलाई मानिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यका अनुसार विश्व राजनीतिमा देखिएको द्वन्द्व र तनावका कारण लगानीकर्ताहरू सुरक्षित लगानीको खोजीमा सुनतर्फ आकर्षित भएका छन् । ‘जब–जब अन्तर्राष्ट्रिय स्तरमा युद्ध वा राजनीतिक द्वन्द्वको खतरा बढ्छ, तब लगानीकर्ता र विभिन्न मुलुकका केन्द्रीय बैंकहरूले सुनको मौज्दात बढाउन थाल्छन्,’ बज्राचार्य भन्छन्, ‘अहिलेको मूल्य वृद्धिको प्रमुख कारण पनि यही हो ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्ला आक्रामक कदमहरूले विश्व अर्थतन्त्रमा त्रास पैदा गरेको विश्लेषण गरिएको छ । भेनेजुएलामाथि नियन्त्रण जमाउने प्रयासदेखि इरान र ग्रिनल्यान्ड जस्ता मुलुकहरूलाई दिइएको धम्कीले विश्व राजनीति तातिएको छ ।
विशेष गरी, रुससँग कच्चा तेल खरिद गरिरहेका भारत लगायतका मुलुकहरूमाथि ५०० प्रतिशतसम्मको ट्यारिफ (भन्सार शुल्क) लगाउने ट्रम्पको चेतावनीले अन्तर्राष्ट्रिय व्यापारिक क्षेत्रमा खैलाबैला मच्चिएको छ । यस्तो अन्योलग्रस्त अवस्थामा सेयर बजार र अन्य लगानीका क्षेत्र असुरक्षित देखेपछि विश्वभरका लगानीकर्ताहरू सुन र चाँदीमा लगानी खन्याउन थालेका छन्, जसले गर्दा माग र मूल्य दुवैमा उछाल आएको हो ।








