पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाको लिस्तिकोटस्थित यार्मासिङ गाउँमा रहेको ऐतिहासिक युद्धकिल्ला दुगुनागढी किल्लामा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको बढ्दै गएको छ ।

वि.सं २०७२ को विनाशकारी भूकम्पले भत्काएको नेपाल–चीन सिमाना नजिक रहेको ऐतिहासिक स्थल दुगुनागढी नेपाली सेनाको अगुवाइमा मौलिक स्वरूपमा पुनर्निर्माण गरिएको छ ।

करिब २०० रोपनी क्षेत्रमा फैलिएको युद्धकिल्ला दुगुनागढी समुद्री सतहबाट करिब दुई हजार २०० मिटर उचाइमा रहेको दुगुनागढीमा इतिहासको अध्ययनसँगै आनन्दको समय बिताउन स्वदेशीदेखि विदेशी पर्यटक दुगुनागढी पुग्ने गरेका छन् ।

आन्तरिक पर्यटक अमृतमान श्रेष्ठ इतिहास बुझ्दै गाउँले परिवेशमा रम्दै मनोरम वातावरणमा आनन्द लिन पाइने भएकाले पनि सिन्धुपाल्चोकको दुगुनागढी पर्यटकको रोजाइमा पर्न थालेको बताउछन् ।

स्थानीय वृद्ध कृष्णबहादुर प्रधानका अनुसार प्रधानमन्त्री भएको नौ वर्षपछि १९१२ सालमा श्री ३ जङ्गबहादुर राणाको निर्देशनमा नेपाली सेनाले यो गढी निर्माण गरेको थियो ।

जतिबेला नेपाल भोटबीच खटपट चलिरहेको थियो । युद्धका बेला जङ्गबहादुर राणाले घुँडा टेकेर तिब्बतको सेनामाथि गोली प्रहार गरेको इतिहास छ ।

उनका अनुसार राष्ट्रकै पुरातात्त्विक सम्पदाभित्र पर्ने दुगुनागढीबाट नेपाल र तिब्बतबीच तीन पटकसम्म भएको युद्धको बेला भोटेकोसी गाउँपालिकाको लिस्तीमाईको दर्शन गरेर नेपाली फौज लडाइँमा गएका थिए ।

भोटसँगको युद्धमा नेपालीले यसै गढीको प्रयोगबाट सफलता हासिल गरेको प्राप्त शिलालेखमा उल्लेख छ ।

यो ठाउँमा देखिने जङ्गबहादुरको पाइलाको निशानले अहिले पनि त्यसबेलाको इतिहासलाई जीवित राखेको पर्यटक सरस्वती श्रेष्ठ बताउछिन् । प्राचीन सभ्यतालाई प्रतिबिम्बित गर्ने यो ठाउँको आफ्नै संस्कार, संस्कृति र पहिचान भएको भोटेकोसी गाउँपालिका–३ का वडाध्यक्ष निमासोना शेर्पा बताउछन् ।

चारैतिर हिमालले घेरिएको दुगुनागढी निकै मनमोहक र रमणीय छ । पुरानो इतिहास जोडिएको यो क्षेत्रलाई पर्यटकीय गन्तव्यसँगै इतिहास झल्काउने गरी काम भइरहेको शेर्पाको भनाइ छ ।

बढीजसो इतिहासका बारेमा चासो राख्नेहरू यहाँ पुगेपछि पुर्खाले जानेरै किल्ला बनाएका रहेछन् भन्दै मन्त्रमुग्ध हुन्छन् । यो स्थानमा एकपटक पुगेकाहरू पुनः साथीभाइ, परिवार र आफन्त लिएर समेत जाने गरेका छन् ।

नेपाल एकीकरणको समयमा प्रयोग भएका एकीकरण मार्ग÷बाटो तथा कोटको पहिचान, संरक्षण, संवद्र्धन र प्रवर्धन गर्न तथा सैनिक इतिहासको जगेर्ना गर्ने नेपाली सेनाले समेत विगत पाँच वर्षदेखि माउन्टेन ट्रेल रेस गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − eight =