शल्यक्रियापछि ज्यान गुमाएकी सुत्केरी राधिकाको शव तीन दिनदेखि अस्पतालमै !

काठमाडौं । सेती प्रादेशिक अस्पतालमा शल्यक्रिया (सिजेरियन) मार्फत शिशु जन्माएकी सुत्केरी महिलाको मृत्यु भएको तीन दिन बितिसक्दा पनि शव उठेको छैन ।
गोदावरी नगरपालिका–८ की ३३ वर्षीया राधिका नेपालीको बुधबार साँझ करिब ५ बजे मृत्यु भएको थियो । उनको शव अझै अस्पतालको शवगृहमा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले बताए ।
पुस २३ गते दिउँसो शल्यक्रियाबाट छोरी जन्माएकी राधिकाको स्वास्थ्य अवस्था जटिल बनेपछि उपचारका क्रममा साँझ मृत्यु भएको हो । नवजात शिशु भने जीवित र स्वस्थ रहेको बताइएको छ ।
परिवारजनले चिकित्सकको लापरबाहीका कारण राधिकाको मृत्यु भएको आरोप लगाउँदै दोषीमाथि कानुनी कारबाही र उचित क्षतिपूर्तिको माग गरेका छन् ।
पीडित पक्ष र अस्पताल प्रशासनबीच छलफल भइरहे पनि निष्कर्ष ननिस्किएका कारण शव नउठेको डीएसपी सिंहको भनाइ छ ।









