जाजरकोटमा जिप दुर्घटनाः २ जनाको मृत्यु, ४ घाइते

काठमाडौं । जाजरकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

जाजरकोटको छेडागाड नगरपालिका–८ स्थित बाह्रनाखोलाको भित्री सडक खण्डमा शुक्रबार बिहान करिब ११ बजेतिर क.प्र. ०२–००१ च १३२७ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

छेडागाड नगरपालिका–९ पजारुबाट थलहातर्फ जाँदै गरेको जिप ब्रेक फेल भएर सडकबाट करिब १५० मिटर तल खसेको थियो । चालकसहित ६ जना सवार जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा छेडागाड–९ पजारुका ७० वर्षीया नन्दकला अधिकारी र सोही ठाउँका २८ वर्षीय राजु अधिकारी रहेका छन् ।

घाइते हुनेमा जिप चालक सोही ठाउँका २४ वर्षीय कृष्ण अधिकारी, २० वर्षीया लक्ष्मी खत्री, ३९ वर्षीय वीरबहादुर अधिकारी तथा दैलेखको नौमुले गाउँपालिका–६ की २३ वर्षीया सितला रावत रहेका छन् । घाइतेहरूको उद्धार गरी उपचारका लागि नगर अस्पताल बडाबन लगिएको प्रहरीले बताएको छ ।

दुर्घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 19 =