डा.सुनील शर्माले दुई युवालाई दिए नयाँ जीवन, फेरि अर्को बिरामीको लिए जिम्मेवारी

भन्छन्–भोट होइन, आशीर्वाद दिनुहोस्

काठमाडौं । कहिलेकाहीँ जीवनमा नाता, स्वार्थ, राजनीति वा जातीय पहिचानभन्दा माथि उठेर केवल मानवीय संवेदनाले अर्को जीवन बदलिदिन्छ । नेपाली कांग्रेसका युवा नेता तथा चिकित्सक डा.सुनील शर्माको जीवन यस्तै करुणामयी मानवताको उदाहरण बनेको छ ।

मोरङको बेलबारी नगरपालिका–३ का १९ वर्षीय सुसन राई दुवै मिर्गौला फेल भएर जीवन–मरणको दोसाँधमा पुगेका थिए । कमजोर आर्थिक अवस्थाका कारण उपचारबाट वञ्चित सुसनको पीडा थाहा पाएपछि सुनील शर्माले दिनरात नभनी उनको जीवन बचाउने अभियान चलाए ।

डाक्टर शर्माकै पहलमा काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) मा सुसनको निःशुल्क मिर्गौला प्रत्यारोपण भयो । उपचार मात्र होइन, नौ महिनासम्म सुसन र उनका बुबालाई शर्माले आफ्नै घरमा राखेर परिवारकै सदस्यझैं बस्ने–खाने व्यवस्था मिलाए । लामो उपचारपछि सुसन पूर्ण रूपमा स्वस्थ भएर घर फर्किए ।

केही समयपछि सुनील आफैं सुसनको स्वास्थ्य हेर्न मोरङको गाउँ पुगे । त्यहाँको दृश्य भावुक थियो । केही महिनाअघि रोगी देखिएका सुसन अहिले हट्टाकट्टा भएर परिवारसँग रमाइरहेका थिए । सुसनकी आमा छोराको जीवन बचाउने ‘भगवान्को प्रतिरूप’ आफ्नै आँगनमा देखेर भावविभोर भइन् । परिवार र छिमेकीले खुशीका आँसु बगाउँदै शर्माको मानवीय कार्यको प्रशंसा गरे । सुनील पनि भित्रैदेखि हर्षित र भगवान्प्रति कृतज्ञ बने ।

तर सुनीलको मन त्यतिमै अडिएन । सुसनको गाउँमै अर्को पीडाको चित्कार सुनियो । बेलबारी–३ खोरियाका चन्द्रबहादुर सुब्बा दुई वर्षदेखि मिर्गौला फेल भएर डायलासिस गराइरहेका थिए । न उपचारको पुँजी थियो, न गाँसबासको जोहो । यो अवस्था देखेपछि सुनीलको मन फेरि पग्लियो ।

उनले तत्काल चन्द्रबहादुरको सम्पूर्ण उपचारको जिम्मेवारी आफैं लिए । केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्थासँगै बस्ने–खाने सुविधा मिलाउने वाचा गरे । त्यत्तिले पनि चित्त नबुझेपछि व्यक्तिगत रूपमा दुई लाख रुपैयाँ बराबरको औषधि किनिदिने घोषणा गरे ।

‘मैले यो पैसा धेरै भएर गरेको होइन,’ सुनील भन्छन्, ‘मानव जीवन क्षणिक हो । एक दिन सबै छोडेर जानुपर्छ । माथि जाँदा सम्पत्तिको होइन, पुण्यको मात्र हिसाब हुन्छ ।’

भगवान् बुद्धका अनुयायी र बीपी कोइरालाको विचारधारा पछ्याउने सुनीलमा मानवताप्रतिको संवेदना सधैं गहिरो छ । उनी भन्छन्, ‘यसबापत भोट माग्दैनौं, केवल आशीर्वाद चाहिएको छ ।’

मोरङ क्षेत्र नं. ३ बाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसबाट पहिलो सिफारिस भएका लोकप्रिय युवा नेता सुनीलले गाउँलेसँग विदा हुँदै सोधे, ‘पछि आउँदा एक छाक भात त खान पाउँछु नि ?’ सबैले ताली बजाउँदै स्वागतको वाचा गरे । यो विदाइ अर्को आगमनको सङ्केत थियो– मानवताको अर्को नयाँ अध्यायको । सुनील शर्माजस्ता व्यक्तिले समाजलाई मानवता अझै जीवित छ भन्ने सन्देश दिइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nineteen =