अबको निर्वाचन महत्वपूर्ण छः उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी ९जसपा०, नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी फागुन २१ गते हुने निर्वाचन महत्वपूर्ण रहेको बताएका छन् ।
उनले संविधान संशोधन तथा पुनर्लेखन, सङ्घीयतालाई मजबुत बनाउन तथा आमनागरिकलाई न्याय दिलाउन अबको निर्वाचनमा जसपा नेपाललाई जिताएर सरकार बनाउनुपर्नेमा जोड दिए ।
पार्टीको लुम्बिनी प्रदेश समितिले आज रूपन्देहीको रोहिणी गाउँपालिका–३ स्थित धकधइमा आयोजना गरेको जनसभामा अध्यक्ष यादवले संविधानमा सबैको अपनत्व हुनेगरी परिमार्जन आवश्यक रहेको बताए ।
‘जनसङ्ख्याका आधारमा भागेदारी चाहिन्छ, हरेक जातजाति, धर्म तथा सम्प्रदायले अपनत्व गर्ने संविधान आवश्यक छ’ उनले भने ।
उनले सङ्घीयतालाई बलियो बनाउन प्रदेशलाई अधिकारसम्पन्न बनाउन आवश्यक रहेकामा जोड दिए ।
जेनजी आन्दोलनपछि भएको सम्झौता कार्यान्वयन नगर्ने षडयन्त्र भइरहेको भन्दै सम्झौता लागू गर्न उनले आग्रह गरे ।
‘अहिलेको संसदीय व्यवस्था प्रणाली असफल भइसकेको छ, त्यसले मुलुकमा जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली आवश्यक छ’ उनले भने ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष यादवले अहिलेको निर्वाचन प्रणाली महङ्गो भएकाले पार्टी र उम्मेदवारले खर्च गर्न नपर्नेगरी नेपालमा समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेकामा जोड दिए ।








