खल्तीको मान्छे बनाउनेगरी भागबन्डा गरियो: गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेताको खल्तीको मान्छेलाई बनाउनेगरी राष्ट्रिय सभा सदस्यको उम्मेदवारमा भागबन्डा गरिएको आरोप लगाएका छन् ।

बुधवार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेपाली काँग्रेस र नेकपा एमालेबीचको तालमेल नेताहरूको व्यक्तिगत स्वार्थअनुसार भएको आरोप लगाएका हुन् ।

उनले दुई पार्टीका शीर्ष नेताको नितान्त व्यक्तिगत सम्बन्धका मान्छेहरूलाई बनाउनेगरी क्लष्टर बाँडफाँड गरेर नाम सिफारिस गरिएको बताए । उनकाअनुसार एमालेले कुन ठाउँमा कुन समुदाय र कुन नेता बनाउने भनेर क्लष्टर लिएको छ भने काँग्रेसले पनि पार्टीको नभई नेताको खल्तीको मान्छे बनाउनका लागि क्लष्टर लिएको देखिन्छ ।

राष्ट्रिय सभाका लागि काँग्रेसबाट प्रस्तावित नौ जना उम्मेदवारमध्ये तीन जनाको नाम कुनै पनि तल्लो तहको समितिबाट सिफारिस नभएको पनि उनले बताए । यसले संसदीय बोर्ड र केन्द्रीय समितिको मात्र नभई जिल्ला र क्षेत्रीय समितिहरूको सिफारिस गर्ने प्रक्रियाको समेत अपमान भएको उनको भनाई छ । उनले उम्मेदवार चयन प्रक्रियामा समावेशिताको मर्मलाई समेत ख्याल नगरेको बताए ।

प्रस्तावित नौ जनामध्ये एक जना पनि जनजाति समुदायबाट नपरेको उनको गुनासो छ । उनले मुस्लिम समुदायका योग्य व्यक्ति उम्मेदवार बनाउने अवसर आएको बेलामा जानीजानी बाहिर राखिएको आरोप लगाए ।

उनले भने ‘यो तालमेल गर्नेकुरा कसरी मिलाइएको छ भने नेपाली काँग्रेस र नेकपा एमालेभित्रका नेताहरूलाई आ–आफ्नो गोजीभित्रको जो–जो मान्छे बनाउनुपर्नेछ, त्यो त्यो कलष्टर आफ्नो भागमा पारिएको छ । एमालेलाई पनि कहाँनेर आफ्नो कुन चाहिँ नेता बनाउनुपर्नेछ, कुन समुदायको नेता बनाउनुपरेको छ, ठ्याक्क क्लष्टर लिएको छ । काँग्रेसलाई पार्टीको होइन नेताको आफ्नो खल्तीको मान्छे बनाउनको लागी क्लष्टर लिएको छ । त्यो क्लष्टर लिएर पहिला नाम छानिएको छ । यसरी मिलाइएको छ । यो प्रपञ्च गर्दैगर्दा आज नेपाली काँग्रेसमा ९ जनाको नाम आउँदैगर्दा के भएको छ भने पहिलो ३ जनाको नाम तल्लो कुनै पनि कमिटीबाट सिफारिस भएर आएको छैन । तल्लो कमिटीबाट सिफारिस भएर नआएको नाम यहाँबाट आज पारित गरियो । यसले संसदीय बोर्ड र केन्द्रीय समितिको मात्रै मानमर्दन गरेन, मानमर्दन गर्नेक्रम अर्को थपियो फेरि, प्रक्रियाको ग¥यो, जिल्लाको गरेको, क्षेत्रले गरेको सिफारिसको कुनै पनि अर्थ भएन । नेताहरूले खल्तीको मान्छे व्यवस्थापन गर्दा के ख्याल गर्नुभएन भने नौ जना मान्छेको नाममा नेपाली काँग्रेसले प्रस्ताव गर्दैगर्दा एकजना पनि जनजाति परेन । अघिल्लो पटक मधेसी समुदायको नपर्दैगर्दा यही भित्र बसेर त्यसमा लडेर हामीले फरक मत राखेका थियौँ, पछिल्लो समय पार्टीले त्यसलाई महसुस गरेर गल्ती सच्याएको थियो तर आज फेरि एक जना जनजातिको नाम छैन । यो पटक मुस्लिम समुदायको लामो समयदेखि काम गरेर आएको व्यक्तिलाई काँग्रेसको तर्फबाट बनाउने अवसर आएको थियो । तर त्यहाँभित्र आफूलाई अर्को क्लष्टरको पार्नुपर्ने भएकोले मुस्लिम समुदायको व्यक्तिलाई जानीजानी छुटाइयो । को कोलाई पार्नु छ, यसरी बनाएको छ । पूरा नितान्त नेताको व्यक्तिगत सम्बन्धका आधारमा निर्णय गरियो ।’

उनले एमालेसँग राष्ट्रिय सभामा तालमेल गर्नेसम्बन्धी निर्णयको औचित्यको बारेमा समेत प्रश्न उठाए । पार्टीभित्र पछिल्लो समय महामन्त्रीहरूलाई पेल्ने काम भई रहको उनको गुनासो छ । उनले उम्मेदवार चयन प्रक्रियामा आफूहरूको फरक मत रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 4 =