राष्ट्रिय सभा सदस्य छनोट प्रक्रियाप्रति अर्जुननरसिंह केसीको आपत्ति

काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले राष्ट्रिय सभाका सदस्य उम्मेद्वार छनोटको प्रक्रियाप्रति आपत्ति जनाएका छन् ।
उनले बुधवार पार्टी कार्यलय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै लोकतान्त्रिक मूल्य र मान्यता विपरित उम्मेद्वार छनौट गरिएको बताए ।
पार्टीभित्र पर्याप्त छलफल नगरी नौ जना व्यक्तिको नाम टुंग्याइएको उनको आरोप छ । उनले यसलाई लोकतन्त्रका लागि लज्जास्पद प्रक्रिया भएको टिप्पणी गरे ।
राष्ट्रिय सभाका प्रतिनिधि छनोटको सन्दर्भमा लामो समयसम्म बैठक बसे पनि कुनै पनि व्यक्तिको योग्यता, क्षमता, योगदान र औचित्यमाथि छलफल नै नभएको उनले बताए ।
उनले ६०–४० को भागबण्डाका आधारमा उम्मेद्वार छनौट गरिएको पनि आरोप लगाए । नौ जनाको सूचिमा आदिवासी जनजातिको प्रतिनिधित्व नहुनु दुःखद् भएको उनको भनाई छ ।
नेपाली काँग्रेसजस्तो लोकतान्त्रिक पार्टीले प्रक्रियागत छलफल नै नगरी सूचि प्रश्तुत गरिनु लोकतान्त्रिक अभ्यास नभएको उनको भनाई छ । उनले पार्टीको निर्णयप्रति असहमति राखेको जनाए ।









