उनी भनिन्- ‘म अहिले राजनीति होइन, पर्यटनमै रम्छु’

रास्वपाको समानुपातिक सूचीबाट हटिन् ट्राभलर सिर्जना ओली

काठमाडौं । सामाजिक सञ्जाल र युट्युबमार्फत नेपालका दुर्गम गन्तव्यहरूको प्रचारमा सक्रिय ‘ट्राभलर’ सिर्जना ओली ‘सिज्जू’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएकी छन् । रुकुम पश्चिमकी स्थायी बासिन्दा ओलीले बुधबार सामाजिक सञ्जालमार्फत आफू तत्काल संसदीय राजनीतिमा नआउने र पर्यटन क्षेत्रमै सक्रिय रहने घोषणा गरेकी हुन् ।

‘बालेन टिम’को सिफारिसमा रास्वपाको खस-आर्य महिला क्लष्टरको समानुपातिक सूचीमा उनको नाम समावेश भएको समाचार बाहिरिएसँगै अनेकौं टिकाटिप्पणी सुरु भएका थिए । तर, सिर्जनाले यो निर्णय हतारमा भएको र आफ्नो मूल बाटो राजनीति नभई ‘पर्यटन’ नै भएको निष्कर्ष निकाल्दै नाम फिर्ता लिएको स्पष्ट पारेकी छन् ।

यात्राको बीचमा आएको त्यो ‘अचानक’ फोन
सिर्जनाका अनुसार उनी ढोरपाटन क्षेत्रको यात्रामा रहँदा काठमाडौंबाट अचानक फोन आएको थियो । ‘हामी बालेन टिमबाट बोल्दैछौं, तपाईंलाई समानुपातिक सूचीमा राख्ने विषय छ, अनुमति दिनुहुन्छ ?’ भन्दै छोटो समयमा निर्णय मागिएको उनले बताएकी छन् ।

‘त्यो बेला म यात्राको धपेडीमा थिएँ। देशका लागि केही योगदान गर्ने अवसर पो हो कि भन्ने सोचेर हतारमा ‘नाइँ’ भन्न सकिनँ,’ उनले आफ्नो स्टाटसमा लेखेकी छन्, ‘तर पछि गहिरिएर सोच्दा महसुस भयो- मेरो जीवनका महत्त्वपूर्ण निर्णयहरू सधैं यात्रामै भएका छन्, तर यो निर्णय अलि हतारमा भएछ ।’

काठमाडौं फर्किएर आत्मसमीक्षा गरेपछि उनले निर्वाचन आयोगमा बुझाइएको बन्दसूचीबाट नाम हटाउने निधो गरिन् । प्राविधिक कारण र यात्राको व्यस्तताले गर्दा जानकारी गराउन केही ढिला भएको उनको भनाइ छ ।

‘म कर्णाली हुँ, पद ओगटेर बस्दिनँ’
सिर्जनाले आफ्नो राजनीतिक चेतना र पारिवारिक पृष्ठभूमिबारे पनि खुलस्त पारेकी छन् । बुवा माओवादी राजनीतिमा सक्रिय रहे पनि र आफू राजनीतिक परिवारमा हुर्किए पनि उनले कहिल्यै परिवारको नाम बेचेर अघि बढ्न नचाहेको बताइन् ।

आफूमाथि उठेका ‘भिजन र एजेन्डा के हो?’ भन्ने प्रश्नको उत्तर दिँदै उनले लेखेकी छन्, ‘मेरो एजेन्डा बुझ्न हुम्लाको लिमी भ्याली, डोल्पाको कागमारा, मुन्धुम ट्रेल र मध्यपहाडी लोकमार्गका बासिन्दालाई सोध्नुहोस् । सहरमा बसेर चिल्ला भाषण गर्नु र माटो टेकेर गाउँ डुल्नु फरक कुरा हो ।’

उनले आफू कुनै पद ओगट्न नआएको स्पष्ट पार्दै भावुक शैलीमा भनेकी छन्, ‘म कर्णाली हुँ, जो सधैं दिन्छ, पाउने आशा राख्दैन । मलाई साँघुरो ठाउँ ओगट्न आवश्यक छैन । कयौँ रात खुला आकाशमुनि र ओडारमा बिताएको मान्छे हुँ ।’

वन विज्ञानमा स्नातक गरेकी सिर्जनाले पछिल्लो समय नेपालका लुकेका गन्तव्यहरूको प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएकी छन् । राजनीतिमा लाग्नुभन्दा पर्यटनमार्फत नै देशको अर्थतन्त्रमा योगदान दिन सकिने उनको बुझाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 2 =