फरक मत राख्दैमा दुर्व्यवहार गर्नु लोकतान्त्रिक संस्कार होइन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका वरिष्ठ नेता विमलेन्द्र निधिमाथि सानेपास्थित केन्द्रीय कार्यालय परिसरमा भएको अमर्यादित व्यवहारप्रति गम्भीर आपत्ति जनाएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महामन्त्री थापाले फरक विचार राखेकै आधारमा कुनै पनि नेतामाथि दुर्व्यवहार हुनु लोकतान्त्रिक मूल्यमान्यता विपरीत रहेको बताएका हुन् ।
उनले यस घटनालाई ‘निन्दनीय’ को संज्ञा दिएका छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्माले यसअघि नै उक्त घटनाको विरोधमा व्यक्त गरेको विचारप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै थापाले लोकतन्त्रमा असहमति र फरक मतको सम्मान हुनुपर्नेमा जोड दिए । ‘एक असल प्रजातन्त्रवादीले सधैं सत्यको अनेकतामा विश्वास गर्छ र विपरित विचार राख्नेको सम्मान गर्छ,’ महामन्त्री थापाले भनेका छन्, ‘यदि फरक मत राखेकै कारण नेता निधिमाथि दुर्व्यवहार भएको हो भने त्यो झन् निन्दनीय र दुःखद छ ।’
थापाले पार्टीभित्र परिवर्तनको आवश्यकता महसुस गरिए पनि त्यो विधि र विधानको परिधिभित्रैबाट हुनुपर्ने स्पष्ट पारे । आवेश र अराजकताभन्दा प्रक्रियामा विश्वास गर्न उनले कार्यकर्ता एवं शुभेच्छुकहरूलाई आग्रह गरेका छन् । ‘हामी सबै परिवर्तनका पक्षपाती हौं, तर विधि, विधान र प्रक्रिया भन्दा बाहिर कुनै बाटो छैन,’ उनले भने, ‘प्रक्रियामा विश्वास गरौँ, हामी सबै सँगै छौँ ।’
कार्यालय प्रवेशका क्रममा नेता निधिमाथि भएको व्यवहारलाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि ‘विल्कुलै गलत’ भन्दै यस्तो प्रवृत्तिलाई बेलैमा निरुत्साहित गर्नुपर्ने बताएका थिए ।









