मेयर बालेनले जाँचबुझ आयोगमा पठाए लिखित जवाफ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे गठित जाँचबुझ आयोगमा लिखित जवाफ पठाएका छन् ।
आयोगले आन्दोलनबारे बुझ्नका लागि मेयर शाहलाई लिखित पत्र पठाएको थियो । उक्त पत्रको जवाफ शाहले पठाएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले पुष्टि गरे । ‘उहाँले पठाउनुभएको लिखित जवाफ आयोगमा प्राप्त भएको छ,’ प्रवक्ता शर्माले भने ।
आयोगले बयानलगायतका कामहरू सकेर अब प्रतिवेदन लेखनको चरणमा प्रवेश गरेको छ । गत साता आयोगले गृहमन्त्री रमेश लेखकको लिखित वक्तव्य र बयान लिएको थियो ।
यसअघि आयोगले जेनजी आन्दोलनसँग सम्बन्धित विवरण तथा अन्य तथ्यांकहरू संकलन गरिसकेको छ ।
तल्ला तहका सुरक्षा अधिकारीहरूको बयानपछि आयोगले काठमाडौंका तत्कालीन प्रहरी प्रमुख, उपत्यका प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयका उच्च पदस्थ अधिकारीहरूसँग बयान लिएको थियो ।
त्यसबाहेक सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, तत्कालीन गृहसचिव, मुख्यसचिवलगायतसँग पनि आयोगले बयान लिएको छ ।
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल आफ्ना अधिकारीहरूसहित आयोगमा पुगेर बयान दिएको आयोग स्रोतले जनाएको छ ।
आयोगले सुरुमा नै रास्वपा सभापति रवि लामिछानेलगायतसँग बयान लिएको थियो । अब सबै पक्षको बयान र लिखित जवाफ संकलन सकिएसँगै आयोगले प्रतिवेदन तयारीलाई तीव्रता दिएको छ ।









