महेशले बाहिर ल्याए ओलीको ६ बुँदे जवाफ : ‘सेना परिचालन गर्न सकिएन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको घटनामा ‘अराजक समूह’को घुसपैठ भएको र स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालनको प्रयास सम्भव नभएको खुलासा गरेका छन् । घटनाबारे छानबिन गर्न गठित आयोगलाई दिएको बयानमा पूर्वप्रधानमन्त्री ओलीले आन्दोलनलाई शान्तिपूर्ण बनाउने सरकारी प्रयासका बाबजुद बाह्य तत्वको प्रवेशले हिंसा भड्किएको दाबी गरेका हुन् ।

बयानको मुख्य अंश एमाले सचिव महेश बस्नेतले मंगलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । आइतबार जाँचबुझ आयोगको टोली अध्यक्ष ओलीको निवास बालकोट (भक्तपुर) पुगेर बयान लिएको थियो । सो क्रममा ओलीले राखेका धारणालाई सचिव बस्नेतले ६ मुख्य बुँदामा समेटेका छन् ।

ओलीले आयोगसमक्ष दिएको बयानअनुसार, भदौ २२ गते साँझ बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले आन्दोलनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न दिने, बल प्रयोग नगर्ने र युवा-विद्यार्थीलाई सहजीकरण गर्ने नीति लिएको थियो। तर, आन्दोलनमा विस्तारै घुसपैठ भएको र अराजक समूह हाबी भएको ओलीको जिकिर छ ।

भदौ २३ गते तोडफोड र एक्कासि गोली प्रहारको घटना सुरु भएपछि स्थिति गम्भीर बनेको ओलीले बताएका छन् । सोही दिन गृहमन्त्री र सुरक्षा अंगका प्रमुखहरूसँगको छलफलपछि छानबिन समिति गठन गर्ने निर्णय लिइएको थियो ।

अध्यक्ष ओलीले भदौ २४ गतेको अवस्थालाई नियन्त्रणमा लिन नेपाली सेना परिचालन गर्न खोजिएको तर विविध कारणले त्यो सम्भव हुन नसकेको गम्भीर खुलासा समेत गरेका छन् । यद्यपि, सेना परिचालन किन सम्भव भएन भन्नेबारे विस्तृत खुलाइएको छैन । ओलीले घटनाको छानबिन गरिरहेका गौरीबहादुर कार्कीको भूमिका र निष्पक्षतामाथि समेत प्रश्न उठाएका छन् । कार्कीले घटना भएकै दिन र त्यसको अघिपछि सामाजिक सञ्जालमा पूर्वाग्रही धारणा सार्वजनिक गरेको भन्दै ओलीले उनीबाट आउने प्रतिवेदन निष्पक्ष हुनेमा आशंका व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 16 =