राष्ट्रियसभा उम्मेदवार टुंग्याउन र केन्द्रीय कमिटीको तयारी गर्न एमाले सचिवालय बैठक सुरु

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सुरु भएको छ । मंगलबार केही समयअघि सुरु भएको बैठकको अध्यक्षता पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् ।

बैठकको मुख्य एजेन्डा आसन्न राष्ट्रियसभा निर्वाचन, समसामयिक राजनीतिक परिस्थिति र आगामी केन्द्रीय कमिटी बैठकको तयारी रहेको छ । विशेषगरी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने विषयमा आजको बैठक केन्द्रित हुने बताइएको छ ।

सोमबार साँझ मात्रै नेपाली कांग्रेस, एमाले र अन्य दलहरूबीच राष्ट्रियसभा निर्वाचनको सिट बाँडफाँडबारे छलफल भएको थियो । सोही सन्दर्भलाई जोड्दै आजको बैठकले पार्टीका तर्फबाट उम्मेदवारहरूको अन्तिम टुंगो लगाउने अपेक्षा गरिएको छ ।

त्यस्तै, बैठकमा मुलुकको पछिल्लो राजनीतिक समीकरण र समसामयिक घटनाक्रमको समीक्षा गर्दै पार्टीको आन्तरिक तथा बाह्य रणनीति तय गरिने छ । एमालेले यही पुस २७ देखि २९ गतेसम्म काठमाडौंमा दोस्रो केन्द्रीय कमिटी बैठक बोलाएको छ । उक्त बैठकमा पेस गरिने प्रस्तावहरूलाई अन्तिम रूप दिने कार्यसूची समेत आजको सचिवालय बैठकमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + nineteen =