एकमहिने स्वस्थानी व्रत सुरु, शालिनदीमा माधवनारायण मेला

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीहरूको घर-आँगनमा आजदेखि एक महिनासम्म चल्ने धार्मिक अनुष्ठान ‘श्री स्वस्थानी व्रत’ तथा ‘माघ स्नान’ सुरु भएको छ । हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म श्रद्धा र भक्तिपूर्वक मनाइने यो पर्व अन्तर्गत आजदेखि घरघरमा स्वस्थानी माताको कथा वाचन र शक्तिपीठहरूको उपासना प्रारम्भ भएको हो ।
सत्य युगमा हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी विष्णुको सल्लाहमा गरेको व्रतको स्मरणमा यो परम्परा चलिआएको धार्मिक विश्वास छ । विशेषगरी सतीदेवीको अङ्ग पतन भएका विभिन्न शक्तिपीठहरूमा देवीदेवताको बास रहने विश्वासका साथ यो महिनामा ती स्थानहरूको दर्शन र पूजा गर्ने गरिन्छ ।
व्रतालुहरूले पौष शुक्ल चतुर्दशीकै दिन हात-गोडाका नङ काटी, स्नान गरेर शुद्ध वस्त्र धारण गरी व्रतको सङ्कल्प लिने गर्दछन् । महिनाभर बिहानै माघ स्नान (नदी वा पवित्र कुण्डमा डुबुल्की मार्ने), मध्याह्नमा शिव-पार्वतीको पूजा र साँझपख स्कन्द पुराणको केदारखण्डअन्तर्गत कुमार र अगस्त्यमुनिबीचको संवादमा आधारित स्वस्थानी ब्रत कथा सुन्ने–सुनाउने विधि रहिआएको छ ।
को हुन् स्वस्थानी देवी ?
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईका अनुसार स्वस्थानी देवीको स्वरूप सुवर्ण वर्णको छ । त्रिनेत्रधारी, प्रसन्न मुद्रामा कमलको आसनमा बसेकी र चार हात भएकी देवीलाई स्वस्थानी भनिएको छ । उनका चार हातमध्ये पहिलोमा नीलकमल, दोस्रोमा खड्ग, तेस्रोमा ढाल र चौथोमा वरदमुद्रा रहेको शास्त्रीय मान्यता छ ।
आध्यात्मिक पक्षबाट हेर्दा ‘स्वस्थानी’ को अर्थ ‘स्व’ अर्थात् आफ्नै आत्मा वा आफू बसेको स्थानकी देवी भन्ने बुझिन्छ । उत्तरायणपछिको समय ध्यान र योगका लागि उपयुक्त हुने भएकाले आफ्नो आत्माको शुद्धीकरण र परमात्मासँगको सम्पर्कका लागि यो समय सर्वोत्तम मानिन्छ ।
स्वस्थानी व्रत सुरु भएसँगै काठमाडौंको उत्तर-पूर्वी भेगस्थित ऐतिहासिक नगरी साँखुको शालिनदीमा एक महिना लामो ‘माधवनारायण मेला’ सुरु भएको छ । शालिनदीमा स्नान गरी माधवनारायणको दर्शन गरेमा पाप पखालिने र पुण्य प्राप्त हुने जनविश्वास छ ।
साँखुको ऐतिहासिक एवं धार्मिक महत्त्वबारे अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’का अनुसार व्रतको प्रभावले नै गोमा ब्राह्मणी पुत्र वियोगबाट मुक्त भएको र उनका छोरा नवराज लावण्य देश (साँखु) को राजा भएको किम्बदन्ती स्वस्थानी कथामा उल्लेख छ । मेला व्यवस्थापन समितिले भक्तजनहरूको सुविधाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यहाँ देशका विभिन्न कुनाकाप्चा र भारतबाट समेत भक्तजनहरू आउने गर्दछन् ।
यस व्रतले बिछोडिएका जोडीको पुनर्मिलन गराउने, रोगव्याध नास गर्ने र योग्य वर–वधु प्राप्त हुने विश्वास समाजमा गहिरोसँग गडिएको छ ।
एक महिनाको कठोर व्रतपछि माघ शुक्ल पूर्णिमाका दिन विशेष विधिपूर्वक व्रतको उद्यापन (साङ्गे) गरिन्छ । सो दिन १०८ सङ्ख्यामा जनै, सुपारी, पान, फूल, रोटी लगायतका नैवेद्य चढाई अघ्र्य दिने परम्परा छ । चढाइएको प्रसादमध्ये आठ–आठ वटा पति, छोरा वा मित छोरालाई दिने र कोही नभए पवित्र नदीमा बगाएर कामना सिद्धिको प्रार्थना गर्ने शास्त्रीय विधान रहेको छ । अन्तिम दिन व्रतालुले १०८ रोटीमध्ये ८ वटा प्रसाद दिई बाँकी १०० रोटी आफैँले फलाहार गरी रातभर जाग्राम बस्ने चलन छ ।









