रास्वपाको समानुपातिक सूची परेका टासीले भन्छन्- दलगत राजनीतिमा रुचि छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश नामलाई लिएर चौतर्फी टीका-टिप्पणी भइरहँदा चर्चित पर्वतारोही टासी लाक्पा शेर्पाले भने सूचीबाट आफ्नो नाम फिर्ता लिन आग्रह गरेका छन् । ‘फोर्टिन पिक्स एक्सिपिडिसन’ का सीईओ समेत रहेका शेर्पाले आफूलाई दलगत राजनीतिमा कुनै अभिरुचि नरहेको भन्दै उम्मेदवारी सूचीबाट नाम हटाइदिन अनुरोध गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै टासीले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ आफ्नो नाम छनोट गरेकोमा पार्टीप्रति आभार त व्यक्त गरेका छन्, तर आफू राजनीतिभन्दा बाहिरै रहेर देश सेवा गर्न चाहेको प्रष्ट पारेका छन् । उनले आफ्नो प्रष्टोक्तिमा भनेका छन्, ‘म दलगत राजनीतिमा रुचि नराख्ने भएकाले मेरो नाम सूचीबाट फिर्ता लिन चाहन्छु । म सधैं मेरो देशको उन्नतिका लागि आफ्नै तरिकाले सहयोग गर्न प्रतिबद्ध रहनेछु ।’
एक साधारण नागरिकका हैसियतले आफ्नो कर्म र पेसाकै माध्यमबाट देशको लागि सक्दो योगदान दिने प्रतिबद्धता उनले दोहोर्याएका छन् । साथै, उनले आसन्न निर्वाचनका लागि सबै दल तथा योग्य उम्मेदवारहरूलाई शुभकामना समेत दिएका छन् ।









