महालक्ष्मी विकास बैंकले अंग्रेजी नयाँ वर्षको अवसरमा परिमार्जित सुनचाँदी धितो कर्जा प्रदान गर्ने

काठमाडौँ । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०२६ को शुभकामना सहित आकर्षक सुविधा रहने गरी परिमार्जित सुनचाँदी धितो कर्जा प्रदान गर्ने भएको छ ।
नयाँ वर्ष २०२६ लाई लक्षित गर्दै तथा नेपाली बजारमा सुन तथा चाँदी प्रतिको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गरेको तथा सुनचाँदी गर्जो टार्ने मात्र नभई लगानीको रूपमा पनि प्रयोग गर्न सकिने विकल्पको रूपमा समेत हेरिएको वर्तमान अवस्थालाई मध्यनजर गर्दै बैंकले विशेष सुविधा सहित सुनचाँदी धितो कर्जा प्रदान गर्ने भएको बैंकले जानकारी दिएका छ ।
बैंकका अनुसार कम ब्याजदर, छरितो प्रक्रिया तथा सुरक्षित वित्तीय व्यवस्थापनको प्रतिवद्धतासहित यो सुविधा बैंकले प्रदान गर्ने भएको हो । यस अन्तर्गत ग्राहकहरूले प्रतिस्पर्धी ब्याजदरमा नै सुनचाँदीको धितोमा कर्जा उपभोग गर्न सक्नेछन् । कुनै पनि आधिकारिक विक्रेताहरूबाट सुनचाँदी खरिद गर्नको लागि समेत बैकले कर्जा प्रदान गर्नेछ । यो योजना अन्तर्गत कर्जाको अधिकतम सीमा रु।५० लाख हुनेछ ।
बैंकले आफ्ना ग्राहकहरूलाई अझै सहज, छिटो छरितो र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्य अनुरूप हाल यो सेवा न्यूरोड (काठमाडौँ), न्यूरोड (पोखरा), महाराजगंज, हेटौडा, भैरहवा शाखाहरू मार्फत प्रदान गरिनेछ ।
यद्यपि सुनचाँदी कर्जाको निवेदन जुनसुकै शाखा कार्यालय मार्फत पेस गर्न सकिनेछ । ग्राहकहरूको वित्तीय व्यवस्थापनलाई थप सहज बनाउने विश्वास व्यक्त गर्दै बैंकले भविष्यमा समेत ग्राहक हितमा केन्द्रित रही विभिन्न अवसर तथा चाडपर्वहरूमा नविनतम् सेवाहरू उपलब्ध गराउँदै जाने बैंकले जनाएको छ ।








