दुई महिनाभित्र विमानस्थलको सेवा सुधार गर्न मन्त्री सिन्हाको निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विमानस्थलको सेवा सुधार गर्न निर्देशन दिएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको २७ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री सिन्हाले हरेक दिन यात्रुहरूले विमानस्थलमा समस्या व्योहोरिरहेको भन्दै विमानस्थलको सेवा सुधार गर्न निर्देशन दिएका हुन् । उनले सामान्य यात्रुको हैसियतले आफूले पटक–पटक काठमाडौँसहित विभिन्न विमानस्थलको यात्रा गरेको अनुभव सुनाउँदै विमानस्थल प्रवेशदेखि बाहिर निस्किँदासम्म यात्रुले सास्ती खेप्नुपरेको बताए ।

उनले विमानस्थलमा दिने सेवाको गुणस्तरको सुधार देखावटी र कस्मेटिक मात्र भएको उल्लेख गरे । उनले दुई महिनाभित्र सेवा सुधार गर्न कर्मचारीहरूलाई निर्देशन समेत दिए । आफू चुनावी सरकारको मन्त्री भएकोले काम गर्ने समय धेरै रहेको उल्लेख गर्दै उनले दुई महिनाभित्रमा विमानस्थलको सेवामा सुधार ल्याउन निर्देशन दिए ।

साना कुराहरू मात्रै सुधार गर्न सके पनि ठुलो उपलब्धि हासिल गर्न सकिने उनको भनाई छ । उनले कुनै बहानाबाजी नगरीकन सुधारको काम थाल्न निर्देशन दिए । उनले काम गर्नको लागि दुई महिनाको समय पर्याप्त भएको पनि बताए । मन्त्री सिन्हाले क्यानको लेखा प्रणालीप्रति पनि असन्तुष्टि जनाए ।

क्यानको सम्पत्ति र खर्चको स्पष्ट अभिलेखन आफूले पाउन नसकेको उनको भनाई छ । उनले लेखा प्रणाली तत्काल सुदृढ गर्न निर्देशन दिए । उनले पोखरा र भैरहवा विमानस्थल सञ्चालनमा क्यानले ठोस कार्ययोजना ल्याउन नसकेकोमा पनि असन्तुष्टि जनाए । पोखरा विमानस्थलमा हिमालयन एयरलाइन्सको एउटा विमान अवतरण हुँदा ताली बजाउने मात्रै काम भएको उनको भनाई छ । काठमाडौँ बाहेक अन्य विमानस्थलसँग आन्तरिक तथा अन्तर्राष्ट्रिय अन्तरआवद्धता कसरी बढाउने भन्ने विषयमा ठोस पहल गर्न उनले निर्देशन दिए ।

उनले भने ‘एउटा सामान्य यात्रुको हैसियतले मैले पटकपटक नेपालको केही विमानस्थलहरू र मुख्य रूपमा काठमाडौँ विमानस्थलको यात्रा गरेँ । मेरो लागि त्यो सुखद रहेन, दुःखको साथ मैले भन्नुपर्ने हुन्छ, यहाँनेर जतिपनि हामीले उपलब्धिहरू प्राप्त गरेका छौँ । चाहे उपलब्धिका कुरा गरौँ, चाहे कर्मचारीका मागका कुरा गरौँ । तर सेवाको कुरामा चाहिँ हामीले देखावटी रूपमा कष्मेटिक तरिकाबाट अलिकति सुधार गरेको होला, तर पर्यटकको हिसाबले, सामान्य नगरिएको हिसाबले, सामान्य यात्रुको हिसाबले विमानस्थलमा प्रवेश गर्दाखेरिदेखि लिएर विमानस्थल बाहिर निस्किँदाखेरीसम्म भोग्नुपर्ने असहज अनुभूति छ । त्यो मैले आफैँले व्यक्तिगत रूपमा भोगेको छु । साना साना परिवर्तनका कुराहरूले हामी यसमा केही सुधार ल्याउनसक्ने अवस्थाहरू छ । त्यसमा हामी कति दत्तचित्त भएर लाग्छौँ भन्ने कुरा आगामी दिनमा मैले हेर्न बाँकी छ । म सँग धेरै दिन छैन । म चुनावी सरकारको मन्त्री हो, मसँग अबको दुई महिना बाहेक अरू समय छैन । तथापि मेरो कोसिस यहाँ के रहन्छ भने तपाईँहरूलाई कुनै यो भन्दा पहिलेको फलानो मन्त्रीले यसो भन्नुभएको थियो, सचिवले यसो भन्नुभएको थियो, राजनीतिक दबाब यस्तो भएको थियो त्यो कारण हुन सकेन भन्ने छुट तपाईँहरूसँग रहने छैन । किनभने त्यस्तो प्रकृतिको दबाब र प्रभाव तपाईँले गर्नुपर्ने छैन । दुई महिनामा परिवर्तन गर्न सक्छु, सक्दिन मलाई थाहा छैन, तपाईँहरूको सहयोग भएन भने कुनै परिवर्तन हुँदैन । तर एभिएसन सेफ्टीको लागी आवश्यक पर्ने जुन संस्कार र संस्कृति छ, त्यसलाई अवलम्बन गर्न र तपाईँहरूको पोसागत दक्षता, क्षमतालाई प्रदर्शन गर्नको लागि यो दुई महिनाको समय धेरै नै काफी छ । तपाईँहरू दत्तचित्त भएर लागिदिनुस् । यो दुई महिनाभित्र के के गर्न सक्नुहुन्छ, के के गरेर देखाइदिन सक्नुहुन्छ र नयाँ सरकार आउँदाखेरि हेर्नुस्, हामीले यति दिनभित्रको यो एचिभ गरेका छौँ भनेर तपाईँहरूले अर्को जो मन्त्री यहाँ आएर उभिनुहुन्छ, उहाँलाई भन्नुस् । म क्यानको लेखाको सम्बन्धमा पनि त्यति सन्तुष्ट हुन सकेको छैन । लेखाले आफ्नो सम्पत्ति कहाँ कहाँ छन् भन्ने कुराको अभिलेखन भएका विषयहरूको बारेमा पनि म स्पष्ट हुन सकिन, सायद मैले नबुझेको पनि हुनसक्छ, तर तपाईँहरूले आफ्नो लेखा प्रणालीलाई सुढृड पार्नुभएन भने गरेका कामहरूलाई पनि त्यही लेखा प्रणालीले कमजोर बनाएर लग्दिन्छ । अर्को कुरा यासाको जुन ईस्यु आइरहेको छ, यूरोपियन युनियनको चाहे पोखराको होस्, चाहे भैरहवाको होस् । यसलाई कसरी चलायमान बनाउने र ती तीन वटा कुराहरूलाई कसरी सम्बोधन गर्ने भनेर अहिले गोस्वारा प्रकृतिबाट त भन्ने कुराहरू सुन्यौँ । तर ठ्याक्कै यो यो कदम चाल्ने भन्ने कुराको स्टेपहरु मैले अहिलेसम्म पनि पाउन सकेको छैन । हामी ल्हासाबाट हिमालयन एयरलाउन्सले ल्याएको एउटा विमाालाई पोखरामा ओर्लेर देख्दाखेरि ताली बजाउने होइन, रुन मन लाग्छ, आन्तरिक रूपमा हाम्रो सेवाहरू काठमाडौँबाट उडेर गएका विमानहरू बाहेक अन्य हाम्रा विमानस्थलहरू छन्, त्योसँग कसरी अन्तरआवद्धता गर्न सकिन्छ रु भद्रपुरबाट, चन्द्रगढीबाट । हामीले भारतबाट कसरी पर्यटक यहाँ ल्याउन सकिन्छ, त्यहाँनेर हामीले उनीहरूलाई कसरी आग्रह गर्नसक्छौँ । भन्नेतिर मैले शून्य अग्रसरता देखे, मलै दुखको साथ भन्नुपर्छ, केही गनुभएको छ भनेपनि त्यसको प्रभाव मैले देखेको छैन ।’

उनले नेपालगन्ज र विराटनगरका विमानस्थलहरू उद्घाटनको तयारी रहेको सुनेको उल्लेख गर्दै ती विमानस्थलले लगानी उठाउने वातावरण छ कि छैन भन्दै प्रश्न गरे । उनले भौगोलिक कारणले पनि नेपालमा विमान यात्रा विलासिताको नभएर अनिवार्यता भएकोले यसको गुणात्मक सुधारमा ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =