‘गगनले बुझाइसकेका थिए खर्च विवरण, निर्वाचन लड्न छैन बाधा’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा निर्वाचन आयोगको ‘कालोसूची’ मा परेको र आगामी निर्वाचन लड्न नपाउने भनी आएका समाचारहरू तथ्यहीन रहेको पुष्टि भएको छ । थापाले गत आम निर्वाचनको खर्च विवरण समयमै बुझाएको र प्रक्रियागत जरिवानासमेत तिरेर फरफारक गरिसकेकाले उनीमाथि निर्वाचन लड्न कुनै कानुनी बाधा नरहेको पाइएको हो ।

मंगलबार केही सञ्चारमाध्यममा प्रतिनिधि सभा सदस्य निर्वाचन-२०७९ मा उम्मेदवार भई खर्च विवरण नबुझाउने र सार्वजनिक नगर्ने १ हजार ८० जनाको सूचीमा गगन थापाको नाम पनि रहेको भन्दै उनी आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनका लागि अयोग्य भएको समाचार प्रकाशित भएका थिए । तर, प्राप्त प्रमाण र कागजातहरूले भने ती समाचारहरू भ्रामक रहेको देखाएको छ ।

प्राप्त कागजात अनुसार, सांसद थापाले २०७९ सालको प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएपछि जिल्ला निर्वाचन कार्यालय, काठमाडौँमा आफ्नो खर्च विवरण विधिवत रूपमा दर्ता गराएका थिए । निर्वाचन आयोगले खर्च विवरण बुझाए पनि त्यसलाई स्थानीय निकाय वा सञ्चारमाध्यममार्फत सार्वजनिक नगरेको भन्दै केही उम्मेदवारहरूलाई जरिवाना तोकेको थियो । आयोगको २०८० साउन ९ गतेको सूचना बमोजिम, थापाले खर्च विवरण सार्वजनिक नगरेबापत तोकिएको १५ हजार रुपैयाँ जरिवाना पनि राष्ट्रिय वाणिज्य बैंकमार्फत २०८० साउन १० गते नै दाखिला गरिसकेका छन् ।

कानुनअनुसार आयोगको निर्णय नमान्ने व्यक्ति मात्र उम्मेदवार हुन नपाउने व्यवस्था छ । गगन थापाको हकमा उनले आयोगको निर्णय स्वीकार गर्दै जरिवाना तिरिसकेको र विवरण सार्वजनिक गरिसकेको हुनाले उनीमाथि आयोगको कारबाही आकर्षित हुँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − seven =