योगेशको अपिल- ‘पार्टी एकताको पक्षमा उभिनू, धैर्यता नगुमाउनू’

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले मुलुक र राजनीतिक दलहरू इतिहासकै कठिन मोडमा रहेको उल्लेख गर्दै पार्टीका नेता-कार्यकर्तालाई धैर्य नगुमाउन र विचलित नहुन आग्रह गरेका छन् । पछिल्लो समय एमालेभित्र देखिएको आन्तरिक खटपट र केही नेताहरूले पार्टी परित्याग गरिरहेको पृष्ठभूमिमा भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो आह्वान गरेका हुन् ।

उनले वर्तमान समयमा नेपाल राष्ट्र, नेपाली जनता, लोकतन्त्र, संविधान र स्वयम् राजनीतिक दलहरू चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको बताएका छन् । यस्तो कठीन परिस्थितिमा हतारिएर निर्णय गर्नुभन्दा गम्भीर आत्मसमीक्षा गर्दै सही निकास खोज्न धैर्यता अनिवार्य रहेको उनको तर्क छ ।

भट्टराईले आगामी ११ औँ महाधिवेशनका लागि आफूहरूले अघि सारेको ‘बहुआयामिक पुनर्गठन र नेतृत्व हस्तान्तरण’ को एजेण्डाले व्यापक चर्चा पाएको दाबी गरेका छन् । उनले भनेका छन्, ‘हाम्रो प्रस्तावले नेपालको राजनीतिक वृत्त, सञ्चारजगत, बुद्धिजीवी तथा आम जनसमुदायको पर्याप्त ध्यानाकर्षण गरेको छ । आगामी दिनमा पनि यो बहस निरन्तर जारी रहनेछ ।’

उनले पार्टीभित्रको आन्तरिक संघर्षमा कुनै पनि प्रकारको ‘आस र त्रास’ बाट मुक्त भएर आफूहरूले यो जोखिमपूर्ण बाटो रोजेको स्पष्ट पारेका छन् ।

एमालेभित्रको वैचारिक तथा सांगठनिक विवादका बीच भट्टराईले सम्पूर्ण कार्यकर्तालाई पार्टी एकताको पक्षमा उभिन अनुरोध गरेका छन् । ‘म पार्टीका सम्पूर्ण कमरेडहरूलाई विचलित नहुन र आफ्नो तर्फबाट पार्टी एकताका पक्षमा भूमिका निर्वाह गर्न अनुरोध गर्दछु,’ उनले लेखेका छन् ।

आफूहरूले उठाएका सुधारका मुद्दाहरूलाई आम जनताले मनैदेखि समर्थन गरेको दाबी गर्दै भट्टराईले निकट भविष्यमा पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्मले यसलाई अनुमोदन गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =