संघीय लोकतान्त्रिक मोर्चामा आगामी राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनबारे छलफल

काठमाडौँ । संघीय लोकतान्त्रिक मोर्चाले आगामी राष्ट्रिय सभा सदस्य र प्रतिनिधि सभा सदस्य निर्वाचनका सन्दर्भमा छलफल गरेको छ ।

मंगलवार लोकतान्त्रिक समाजवादी पार्टीको कार्यालय बबरमहलमा बसेको मोर्चाको बैठकले यसबारे छलफल गरेको हो । छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लाले आउन लागेको राष्ट्रिय सभा निर्वाचन र प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा छलफल भएको बताए ।

आगामी बैठकमा मोर्चामा संवद्ध सबै राजनीतिक दलका अध्यक्षहरूसँग बसेर उम्मेदवार र गठबन्धनबारे निर्णय लिने सहमति भएको बताए । प्रतिनिधि सभा सदस्य निर्वाचनमा मोर्चामा रहेका दलका उम्मेदवारहरू साझा बनाउनेबारे पनि छलफल भएको बताए ।

उनले भने ‘आउन लागेको राष्ट्रिय सभा निर्वाचन र प्रतिनिधि सभा निर्वाचनको विषय थियो । राष्ट्रिय सभा निर्वाचनमा मोर्चा कसरी प्रस्तुत हुने, मधेस प्रदेशका ४ वटा सिटमा को उम्मेदवार हुने भन्नेबारेमा छलफल भयो । अर्को बैठक मोर्चाको सबै अध्यक्षहरूको उपस्थितिमा अघि बढाउने सहमति गरेका छौँ । त्यस्तै प्रतिनिधि सभाको निर्वाचनका सन्दर्भमा जुन पार्टीहरू मिलिसकेका छन्, उहाँहरूको उम्मेदवार हुन्छ नै । मोर्चाका अरू दलहरू एकीकृत भइसक्नुभएको छैन, उहाँहरूलाई सिट मिलाउन सबै मोर्चाका अध्यक्षहरूसँग बैठक बस्ने, मोर्चा निर्वाचनमा देशभरका सबै स्थानमा प्रस्तुत हुने, कोसँग मिलेर जाने, संयुक्त रूपमा कसरी जाने भन्नेबारेमा छलफल भयो ।’

मोर्चाको अर्को बैठक पुस १८ गते अध्यक्षसहित बस्ने पनि उनले जानकारी दिए । मोर्चामा रहेका सात दलहरूमध्ये ४ दल एउटै भइसकेको र तीन दलहरूसँग तालमेल कसरी गर्ने भन्नेबारेमा सैद्धान्तिक सहमति गरिने बताए । निर्वाचनका लागि पुराना शक्तिहरू र नयाँ शक्तिहरूमध्ये कुनै एकसँग सहमति गरेर अघि बढ्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =