नेपालपे नेशनल कार्ड स्किम विदेशमा समेत स्वीकार्य हुने

काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले Discover Network सँगको सहकार्यमा नेपालको नेशनल कार्ड स्किम, NEPALPAY Card, को कमर्शियल रोलआउट सुरु गरिएको घोषणा गरेको छ ।
नेशनल पेमेन्ट स्विच परियोजना अन्तर्गत नेशनल कार्ड स्विच NEPALPAY Card र पूर्ण रूपमा सञ्चालनमा ल्याइएको हो जसबाट बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने NEPALPAY कार्डहरू नेपाल भरिका एटीएम र पीओएस टर्मिनलमा मात्र नभई विश्वव्यापी रूपमा प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
यस सहकार्य पश्चात् NEPALPAY Card का प्रयोगकर्ताहरूले Discover Network र Diners Club International को विश्वभरि संयुक्त रूपमा रहेका १९० भन्दा बढी देश तथा क्षेत्रहरूमा उक्त कार्डको प्रयोग गर्न सक्नेछन् भने नेपालका मर्चेन्टहरूले ३० भन्दा बढी नेटवर्क एलायन्सहरू तथा Diners Club कार्डहरूमा आबद्ध विश्वभरका ३७८ मिलियन भन्दा बढी कार्डहरूबाट भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
हालसम्म ३४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूले NPS-National Card Switch (NCS) र NEPALPAY को प्रिन्सिपल सदस्यताका लागि सम्झौता गरिसकेका छन् भने अन्य संस्थाहरू पनि क्रमशः थपिने क्रममा रहेको छ । NPS–NCS मा कार्ड सम्बन्धी कारोबारको अन्तरआवद्धताका साथै राउटिङ्ग, सेटलमेन्ट, डिस्प्यूट ह्यानडिलिङ्ग तथा एकीकृत रिपोर्टिङ जस्ता विशेषताहरू रहेका छन् ।
नेपालको भुक्तानी प्रणालीहरूलाई आधुनिकीकरण गर्ने उद्देश्य सहित लागू गरिएको NPS परियोजना अन्तर्गत Retail Payment Switch (RPS) / Cross-Border Interface (NPIx) नोभेम्बर २०२१ देखि नै कार्यान्वयनमा आइसकेको कम्पनीले बताएको छ । NCS र NEPALPAY कार्डले स्वदेशी कार्ड कारोबारमा लागत घटाउने, डाटा लोकलाइजेसन कार्यान्वयन गर्ने तथा डिजिटल इकोसिस्टममा नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको कम्पनीले जानकारी दिएको छ ।
एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधान भन्छन् ‘नेशनल पेमेन्ट स्वीचको स्थापना र NEPALPAY कार्डको कमर्शियल रोलआउटले नेपालको डिजिटल यात्रामा एक महत्त्वपूर्ण रूपान्तरण ल्याएको छ । यस पहलले अन्तरआवद्ध भुक्तानी इकोसिस्टम निर्माण गर्नुका साथै नवप्रवर्तनका लागि बलियो आधार तयार पर्नेछ । Discover Network सँगको हाम्रो साझेदारीले विश्वव्यापी स्वीकार्यता सहित सुरक्षित, भरपर्दो र अन्तर्राष्ट्रिय स्तरको भुक्तानी कार्ड स्किम प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई दर्साउँछ ।’
Discover, International Markets का भाइस प्रेसिडेन्ट शुभ्रजित बसु भन्छन् ‘ NEPALPAY सँगको यो रणनीतिक सहकार्यले एशिया–प्रशान्त क्षेत्रमा हाम्रो उपस्थिति र सेवालाई विस्तार गर्न सहयोग पुर्याउनेछ । साथै, प्रत्येक कारोबारसँगै, मर्चेन्ट र कार्ड प्रयोगकर्ताहरूले गुणस्तरीय र सुरक्षित भुक्तानीको सेवामामा पहुँच प्राप्त गर्नेछन् ।’








