सुध्रिनसके काँग्रेसले कसैको वैशाखी टेक्नुपर्दैन: काँग्रेस नेता केसी

काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले सुध्रिनसके नेपाली काँग्रेसले कसैको वैशाखी टेक्न जरुरी नरहेको बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले काँग्रेस सुध्रिन नसके चारैतिर चुनौती नै चुनौती रहेको टिप्पणी गरे । उनले सुध्रिएर जनतामाझ जानसके तल्लोेस्तरसम्म संगठन भएको काँग्रेसलाई कसैको वैशाखी टेक्न जरुरी नरहेको बताए ।
काँग्रेस आफैँ लोकतन्त्रको संरक्षक, संवाहक भएको जिकिर गरे ।
उनले भने ‘हामी सुध्रिएनौँ भने त चारैतिर चुनौती नै चुनौती छ । हामी सुध्रियौँ भने गाउँगाउँसम्म संगठन छ, इतिहासमा गरेका योगदान, विकासका कुराहरूलाई अब सुधार गर्छौँ भनेर जाँदा जुनसुकै शक्ति आएपनि काँग्रेसले कसैको वैशाखी टेकेर हिँड्नुपर्दैन । काँग्रेस आफैँ लोकतन्त्रको संरक्षक, संवाहक हो ।’
काँग्रेस नेता रामनाथ अधिकारीले पुस महिनाभित्र केन्द्रीय महाधिवेशन गरिसक्नुपर्ने भएपनि केही समय सर्नसक्ने अवस्था रहेको बताए । उनले क्रियाशील सदस्यता टुङ्ग्याएर छिटो महाधिवेशन गर्नुपर्ने बताए । छिटो महाधिवेशन गर्न आफ्नो जोडबल रहने बताए ।
उनले भने ‘पुस महिनाभित्र केन्द्रीय महाधिवेशन गरिसक्नुपर्ने हो । क्रियाशील सदस्यताका कारण केही समय हेरफेर हुँदैछ भन्ने बुझिएको छ । क्रियाशील सदस्यहरू दुई दिनभित्रमा सम्पन्न गरेर जिल्लामा पठाए वडा तहबाट महाधिवेशन सम्पन्न हुनेछ । त्यसमा मेरो जोडबल रहन्छ । बदलिँदो परिस्थितिमा बदलिँदो ढङ्गबाट हामी अघि बढ्नुपर्छ । मेरो पार्टीले पनि त्यो किसिमको निर्णय लेला भन्ने विश्वास छ ।’
नेता अधिकारीले आगामी निर्वाचन नलड्ने घोषणा गरे पनि पार्टी राजनीतिमा आफू सक्रिय रहने बताए ।









