रवि-बालेन एकता ‘जनताको चाहना’को प्रतिफल हो : डिपी अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्यालले पार्टी सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहबीचको एकतालाई आम नेपाली जनताको चाहना र भावनाको कदरका रूपमा व्याख्या गरेका छन् । आइतबार बिहान दुई नेताबीच पार्टी एकतासम्बन्धी ऐतिहासिक सहमति भएपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उपसभापति अर्यालले यो एकताले देशमा नयाँ राजनीतिक उत्साह सञ्चार गरेको बताएका हुन् ।

शनिबार साँझदेखि चलेको झन्डै १० घण्टा लामो सघन छलफलमा सहभागी अर्यालले आम जनताले लामो समयदेखि दुई युवा ढुकढुकीलाई एउटै मञ्चमा देख्न चाहेको र सोही अभिलाषा आज पूरा भएको उल्लेख गरे । ‘जनताको आशा र चाहना बमोजिम दुई नेता अब एकसाथ रास्वपामा आबद्ध हुनुभएको छ,’ अर्यालले फेसबुकमा लेखेका छन्, ‘यो सहमति केवल दुई व्यक्तिबीचको मिलन मात्र नभई समृद्ध नेपाल निर्माणका लागि जनताले सुम्पेको जिम्मेवारीको एउटा कडी हो ।’

उपसभापति अर्यालका अनुसार आइतबार बिहान ४:१५ बजे भएको समझदारीले आगामी राजनीतिक दिशालाई नयाँ उचाइमा पुर्‍याउनेछ । सहमति अनुसार रास्वपाले आगामी प्रतिनिधि सभाको निर्वाचनमा बालेन शाहलाई भावी ‘प्रधानमन्त्री’ को रूपमा प्रस्तुत गर्ने निर्णय गरेको छ । पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ र चुनाव चिह्न ‘घन्टी’ नै रहने गरी भएको यो सहमतिमा बालेन शाहका तर्फबाट थपिने केन्द्रीय सदस्यहरूलाई समावेश गरेर निर्वाचन आयोगमा दल अद्यावधिक गर्ने समझदारी समेत भएको छ ।

सभापति रवि लामिछानेले देशलाई चाहिएको जस्तो सहमति भएको बताइरहँदा र अर्का उपसभापति डा. स्वर्णिम वाग्लेले बालेनलाई रास्वपाको नेताको रूपमा स्वागत गरिरहँदा डिपी अर्यालले भने यसलाई ‘जनभावनाको जित’ को रूपमा चित्रण गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 14 =