मस्कुलर डिस्ट्रोफी पीडित बालकको उपचारका लागि सहयोग अभियान सुरु

काठमाडौं । दुर्लभ आनुवंशिक रोग मस्कुलर डिस्ट्रोफीबाट पीडित साढे दुई वर्षका बालक लियाम थापाको उपचारका लागि सहयोग अभियान सुरु गरिएको छ ।
आज रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै लियाम थापाकी आमा निर्जला सिग्देलले छोराको जीवन बचाउन हरेक चुनौती सामना गर्दै उपचारका लागि आर्थिक सहयोग जुटाउने प्रयास गरिरहेको बताइन् ।
जन्मिँदा सामान्य देखिएका लियाममा उमेर बढ्दै जाँदा रोगका लक्षण देखिन थालेका छन् । उठ्न गाह्रो हुने, हातखुट्टाको मासु कडा हुँदै जाने, शरीरको सन्तुलन नमिल्ने, उठाउँदा घुँडाले टेक्ने जस्ता समस्या देखापरेको परिवारले जनाएको छ ।
चिकित्सकका अनुसार यो रोगमा मांसपेशी क्रमशः कमजोर हुँदै जाने, हिँड्न–बस्न नसक्ने अवस्था आउने र शरीरका गतिविधि बन्द हुँदै जाने जोखिम रहन्छ । मस्कुलर डिस्ट्रोफीबाट पीडित व्यक्तिको औसत आयु २० देखि २५ वर्षसम्म मात्र हुने बताइन्छ ।
लियामको उपचारका लागि करिब नेपाली रुपैयाँ ४५ करोड खर्च लाग्ने अनुमान गरिएको छ । सो रकम जुटाउन परिवारले ‘गो फण्ड मी’मार्फत सहयोग सङ्कलन अभियान सञ्चालन गरेको छ । यदि अष्ट्रेलियन सरकारले निःशुल्क उपचारको व्यवस्था गरेमा सङ्कलित रकम यस्तै रोगबाट पीडित अन्य बिरामीका लागि खर्च गरिने परिवारको भनाइ छ ।
मस्कुलर डिस्ट्रोफी फाउण्डेशनका उपाध्यक्ष अनिल उपाध्यायका अनुसार नेपालमा तीन हजारदेखि चार हजारजनासम्म मस्कुलर डिस्ट्रोफीका बिरामी रहेको अनुमान छ । हालसम्म फाउण्डेशनसँग करिब एक हजार २०० जना बिरामी सम्पर्कमा आइसकेका छन् । नेपालमा वंशानुगत परीक्षणको सुविधा नभएकाले यस्ता रोगको पहिचान र उपचारका लागि बिरामी विदेश जान बाध्य रहेको उनले बताए ।
गायक धीरज राईले लियामको उपचारका लागि सबैलाई सहयोग गर्न आग्रह गर्दै, ‘मानवियता नै पहिलो धर्म हो, सबैजना एकजुट भए लियाम जस्ता बालबालिकाको जीवन बचाउन सकिन्छ’, भने ।
मस्कुलर डिस्ट्रोफी एक दुर्लभ आनुवंशिक रोग भए पनि समयमै उपचार, अन्तरराष्ट्रिय सहयोग र सामूहिक प्रयासबाट पीडितको जीवनस्तर सुधार गर्न सकिने विश्वास गरिएको छ ।
अहिले लियाम थापाको जीवन बचाउन समाजको सहयोग र सहानुभूति अत्यावश्यक बनेको छ । लियामको उपचारका लागि सहयोग गर्न र उनकोबारेमा थप जानकारी लिनका लागि ९८४१५०१९४३ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।









