ग्लोबल आइएमई बैंकले डिएआई-उदय परियोजनासँग सहकार्य गर्ने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र डिएआई–उदय परियोजना बीच कोशी प्रदेशका विभिन्न साना तथा लघु उद्यमहरूलाई वित्तीय पहुँचका लागि सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मी तथा परियोजनाका चिफ अफ पार्टी अरुण रानाले हस्ताक्षर गरेका हुन् ।

समझदारी पश्चात् कोशी प्रदेशमा सञ्चालित विभिन्न साना तथा लघु व्यवसायहरूलाई सहजरुपमा कर्जा प्रवाह हुने र लगानीको अभावले व्यवसाय विस्तार गर्न असमर्थ उद्यम तथा उद्यमीहरूको व्यवसाय विस्तार सँगै रोजगारी वृद्धि हुने विश्वास लिएको बैंकले जनाएको छ ।

यस सम्झौता अनुसार, डिएआई–उदय परियोजनाले छनौट गरेका उद्यम तथा व्यवसायहरूले ग्लोबल आइएमई बैंकको कोशी प्रदेशका सम्पूर्ण शाखा कार्यालयबाट सहजरुपमा कर्जा पाउनेछन् ।

नेपाल सरकार तथा स्विट्जरल्याण्ड सरकारको द्विपक्षिय पहलस्वरुप कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको प्राविधिक सहयोगमा कोशी प्रदेशका सम्पूर्ण जिल्लाहरूमा डिएआई–उदय परियोजनाले कार्य गर्दै आइरहेको छ ।

डिएआई– उदय परियोजनाले कोशी प्रदेशमा नवीकरणीय ऊर्जा, कृषि प्रशोधन, आईटी, पर्यटन तथा उत्पादनमूलक उद्योग लगायतका व्यवसायहरूलाई कर्जाको उपलब्धता तथा व्यावसायिक उन्नतिको लागि वित्तीय श्रोतमा सहज वातावरण बनाइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + nine =