सिद्धबाबा सुरुङमार्गको ६५ प्रतिशत भौतिक प्रगति

काठमाडौं । लामो समयदेखि यात्रुको सास्ती र जोखिमको पर्याय बनेको सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड अब सुरक्षित बन्ने अन्तिम चरणमा पुगेको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित निर्माणाधीन सुरुङमार्गको ६५ प्रतिशत निर्माण कार्य सकिएको छ ।

आयोजनाका अनुसार १ हजार १ सय २६ मिटर लामो मुख्य सुरुङको निर्माण (ब्रेक थ्रु) सम्पन्न भइसकेको छ । यसका साथै आपत्कालीन अवस्थाका लागि प्रयोग हुने १५१, १६१ र १३० मिटर लम्बाइका तीन वटा ‘बाइपास’ सुरुङको काम पनि पूरा भएको छ । हाल आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत पुगेको छ ।

अहिले सुरुङमार्गसम्म पुग्ने पहुँच सडक (एक्सेस रोड), भीर संरक्षण र रिटेनिङ पर्खाल निर्माणजस्ता संरचनागत कामहरू तीव्र गतिमा भइरहेका छन् । समग्र आयोजना अन्तर्गत २ हजार ३ सय ९८ मिटर सडकको स्तरोन्नति गर्नुपर्ने दायित्व निर्माण कम्पनीको छ । यद्यपि, सडकमा खस्ने पहिरो र ढुंगा रोक्न बनाइने ‘रक सेड’को काम भने बाँकी नै छ । ७८० मिटर लम्बाइ, ३.४३ मिटर चौडाइ र ४.४ मिटर उचाइ हुने यो संरचनाको निर्माण मुख्य सुरुङबाट सवारी साधन सञ्चालन भएपछि मात्र सुरु गरिने जनाइएको छ ।

सुरुङमार्ग निर्माणस्थलको आइतबार निरीक्षण गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले आयोजनाको काम निर्धारित समयमै सक्न निर्देशन दिए । भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्मासहित स्थलगत अवलोकनमा पुगेका मन्त्री घिसिङले आयोजना र निर्माण व्यवसायीबीचका बाँकी विषय तत्काल टुंग्याउन आग्रह गरे ।

समयमै निर्णय नहुँदा काममा ढिलाइ हुन नहुनेमा उनले जोड दिए । उनले भने, ‘समयमा साइट उपलब्ध नभएको, वन कटान र अग्रिम भुक्तानीमा ढिलाइ भएको जस्ता काबु बाहिरको परिस्थिति देखाउँदै निर्माण व्यवसायीले १९ महिना म्याद थपको माग गरेको रहेछ । यो विषयलाई आयोजना, परामर्शदाता र निर्माण व्यवसायी बसेर तत्काल निर्णय गर्नुहोस् । निर्णय नभएकै कारण निर्माण कार्य प्रभावित हुन दिनु हुँदैन ।’

यो आयोजना इन्जिनियरिङ, खरिद र निर्माण (इपीसी) मोडलमा निर्माण भइरहेको छ । २०७८ फागुन २५ गते ‘चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन’ सँग ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ (करसहित) मा ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार २०८३ चैतभित्र सुरुङमार्ग निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । निर्माण सम्पन्न भएपछि कम्पनीले नै १ हजार ८ सय २५ दिनसम्म सुरुङको सञ्चालन तथा मर्मत सम्भार गर्ने शर्त रहेको छ । नेपाल सरकारको आफ्नै स्रोतबाट यो आयोजना निर्माण भइरहेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 2 =