संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि निवासमै कालोमोसो प्रहार

दाङ । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालमाथि आइतबार दिउँसो अज्ञात समूहले कालोमोसो दलेर दुर्व्यवहार गरेको छ । दाङस्थित विश्वविद्यालयको आफ्नै निवास (क्वाटर) मा बसिरहेका बेला उपकुलपति नेपालमाथि यस्तो अभद्र व्यवहार भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार, ५ देखि ६ जनाको सङ्ख्यामा आएको एक समूहले एक्कासि उपकुलपतिमाथि कालो मसी छर्केर फरार भएको थियो। घटना लगत्तै सो समूहको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठ र डीएसपी चक्र शाहसहितको टोली घटनास्थल पुगेको थियो ।
डीएसपी शाहले घटनाको प्रकृति हेर्दा सुनियोजित देखिएको र संलग्न व्यक्तिहरूको पहिचान गरी पक्राउ गर्न व्यापक प्रहरी परिचालन गरिएको जानकारी दिए । दैलेखको दुल्लु स्थायी घर भएका प्रा.डा. नेपाल प्राज्ञिक क्षेत्रमा प्रतिष्ठित मानिन्छन् । उनी वाल्मीकि विद्यापीठमा लामो समय ज्योतिषशास्त्र विभाग प्रमुखका रूपमा कार्यरत थिए ।
यसअघि संस्कृत विश्वविद्यालयमै परीक्षा नियन्त्रकको जिम्मेवारी सम्हालिसकेका नेपाल नेपाल ज्योतिष परिषद्का वरिष्ठ सल्लाहकार समेत हुन् ।









