व्यवसायीलाई उच्च मनोबलका साथ लगानी बढाउन गभर्नर पौडेलको आग्रह

काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले व्यवसायीहरूलाई वर्तमान आर्थिक अवस्थाबाट निराश नहुन आग्रह गर्दै उच्च मनोबलका साथ अघि बढ्न आह्वान गरेका छन् ।

आज गोरखापत्र संस्थानले गरेको एक कार्यक्रममा बोल्दै गभर्नर पौडेलले विगतका कठिन समयको स्मरण गराउँदै निजी क्षेत्र धेरै आरोह–अवरोह पार गरेर यहाँसम्म आइपुगेको बताए । अबको समयमा पनि अघि बढ्न उनले साहस गर्नुपर्ने बताए । उनका अनुसार मनोबललाई स्थिर बनाइराख्ने केही आधारहरू छन्, जसमा आवधिक र स्वच्छ निर्वाचन प्रमुख हो । कम स्रोत भएका व्यक्तिहरूले पनि स्वतन्त्र रूपमा उठेर चुनाव जित्न सक्नु लोकतन्त्रको सकारात्मक पक्ष भएको उनले उल्लेख गरे । परम्परागत दल बाहिरबाट पनि हरेक निर्वाचनमा प्रतिनिधि निर्वाचित हुनु देश अघि बढिरहेको संकेत भएको गभर्नर पौडेलको भनाइ छ ।

गभर्नर पौडेलले उत्पादनशील क्षेत्रमा लगानी बढाउन आह्वान समेत गरे । ऊर्जा र यातायात जस्ता पूर्वाधार क्षेत्रमा ठूलो खर्च गर्न आँट गर्नुपर्ने बेला आएको उल्लेख गर्दै उनले बैंकिङ क्षेत्रबाट आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको स्पष्ट पारे । गभर्नर पौडेलले बन्ड जारी गर्ने विषयमा पनि निजी क्षेत्रसँग निरन्तर छलफल र नेगोसिएसन भइरहेको जानकारी दिए । ऊर्जा क्षेत्रमा उत्पादन, प्रसारण र वितरणमा थप लगानीको आवश्यकता औँल्याउँदै यातायात पूर्वाधारमा पनि ठूलो लगानी गर्न सकिने प्रशस्त सम्भावना रहेको बताए । यसका लागि नेपाल राष्ट्र बैंकले नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।

गभर्नर पौडेलले भने– ‘ठूलो खर्च गर्न आँट गर, बैंकिङ क्षेत्रबाट हामीले गर्नुपर्ने सहयोग गर्न तयार छौँ । बन्डहरू जारी गर्ने बारेमा पनि हाम्रो नेगोसिएसन भएको थियो । ऊर्जा, यातायात जस्ता क्षेत्रमा राम्रो खर्च गर्न कोसिस गरौँ । ऊर्जा, यातायातमा धेरै सम्भावना छ, यो भन्दा धेरै राम्रो बनाउन सकिन्छ । सम्भावनाको केही प्रतिशत पनि हामीले प्रयोग गरेको देखिँदैन । यातायातमा पनि ठूलो लगानी गर्न आँट गरौँ । राष्ट्र बैंकबाट पनि सहजीकरण गर्छौँ । म व्यवसायी साथीहरूलाई भन्न चाहन्छु, उच्च मनोबल लिएर काम गर, यो भन्दा प्रतिकूल परिस्थितिमा मान्छेहरूले मिहिनेत गरेका छन् । सबै देशहरू विपन्न हुँदा धेरै कारणहरू हुन्छन् । हामी अप्ठ्यारो सोचेर बस्नुपर्ने केही कारण छैन । हामी धेरै प्रकारका आरोह–अवरोह पार गरेर यहाँ आइपुगेका छौँ । २० वर्षअघि हाम्रो देशमा आन्तरिक द्वन्द्व थियो । राजदरबार हत्याकाण्ड भएको थियो । यति धेरै भुइँचालोहरू आए । धेरै प्रकारका आरोह–अवरोहहरू भइरहेका छन् । तैपनि दुई–चारवटा कुराहरू छन्, जसले हामीलाई स्थिर बनाइरहेको छ । त्योमध्ये एक हाम्रो आवधिक निर्वाचन हो । निर्वाचनहरू स्वच्छ भइरहेका छन् भन्नेमा हामी सबैले विश्वास गर्दै आएका छौँ । कम पैसा भएकाहरू पनि स्वतन्त्र रूपमा उठेर चुनाव जितिरहेका छन् । हरेक निर्वाचनमा परम्परागत पार्टी बाहिरबाट पनि चुनाव जितेका छन् । यी चिजहरूले हामीलाई अघि बढ्न पनि सघाउ पुर्‍याइरहेको छ ।’

गभर्नर पौडेलले सकारात्मक आधारलाई आत्मविश्वासका साथ उपयोग गर्दै निजी क्षेत्रले लगानी बढाए अर्थतन्त्र थप गतिशील बन्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − one =